लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला

चौतारा, ३० साउन-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ । पहिराले २७ घर पुरेको थियो । घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ । गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ । यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिनुभयो । राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ । त्यसअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिई फर्कनुभएको थियो ।रासस

उद्धार गर्दै नेपाली सेनाका जवान
सिन्धुपाल्चोकको जुगल सिन्धुपाल्चोक गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा बेपत्ता ३८ को उद्धार गर्दै नेपाली सेनाका जवान । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् । तस्वीर देवराज सुवेदी ÷रासस
Facebook Comments