रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनको तयारी तिव्र

सन्देश श्रेष्ठ पोखरा, माघ १९

पोखरामा माघको चौथो साता हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनको तयारी तिव्र पारिएको छ । माघ २४, २५ र २६ गते पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनको तयारी तिव्र पारिएको कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए । कन्भेन्सनका लागि कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्र नयाबजारमै सम्पर्क कार्यालयसमेत स्थापना गरिएको उनले बताए ।

कन्भेन्सनका लागि मुख्य कार्यक्रम हुने स्थानमा टेन्ट हालेर ३ हजार मानिस अटाउने क्षमताको कन्फिरेन्स हल बनाइएको छ । डोममा भने देशका सबै रोटरी क्लवहरुले गरेका कामहरुको प्रदर्शनी गर्ने ब्यबस्था मिलाइएको छ । कार्यक्रम स्थल अगाडिको भागमा आकर्षक मूल द्वार निर्माण गर्नुका साथै कार्यक्रम स्थलमा साउन्ड सिस्टमदेखि लाइटकोसमेत प्रबन्ध गरिएको छ भने सुरक्षा ब्यबस्थापनि चुस्त बनाउने तयारी गरिएको संयोजक धोजुले बताए ।

कन्भेन्सनका लागि अग्रिम नाम दर्ता गर्ने क्रम शुरु भएको कार्यक्रमका सेक्रेटरी डिल्लीप्रसाद शर्माले बताए । हामीले नाम दर्ता गर्न शुरु गरेका छौं,‘कन्भेन्सनमा सहभागि हुन चाहनुहुनेहरुले फोन, इमेल र फेसबुक म्यासेन्जरबाटसमेत नाम दर्ता गराइरहनु भएको छ ।’

कन्भेन्सनमा करीब ३ हजार रोटरीयनहरु सहभागि हुने जनाइएको छ । कन्भेन्सनमा रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ मा आबद्ध १२७ क्लवका नेपालसहित भुटानका रोटरीयनहरु पोखरा आउने कार्यक्रम संयोजक गोपाल धोजुले बताए । उनका अनुसार भुटानीहरुसमेत नेपालकै क्लवमा आबद्ध भएकाले उनीहरुपनि कन्भेन्सनमा सहभागि हुन पोखरा आउनेछन् ।

कन्भेन्सनमा रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहतासहित विश्वका उच्च तहका रोटरियनहरु आउने उनले बताए । डिष्ट्रिक्टमा आबद्ध क्लव तथा रोटरियनबाहेक अमेरिका, जापान, कोरियालगायतका देशका रोटरियनहरुपनि कन्भेन्सनमा सहभागि हुने संयोजक धोजुले बताए ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसन दोश्रोपटक पोखरामा हुन लागेको हो । यसअघी सन २०१४ मा पनि पोखरामै डिष्ट्रिक्ट कन्भेन्सन भएको थियो ।

कन्भेन्सनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनका सेक्रेटरी रोटरियन डिल्लीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कन्भेन्सनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् ।

Facebook Comments