राहत बाँडदै पोखराका कलाकार

पोखरा, ७ जेठ

पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ । गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो ।

पोखरा साँगितिक कलाकार संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा तेस्रो चरणको राहत वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ । संघले पोखरा वडा नम्बर १० तथा १५ क्षेत्रका अपाङ्गता भएका तथा विपन्न व्यक्तिका परिवारलाई राहत वितरण गरेको हो । ४७ घर परिवारलाई राहत वितरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए । जस मध्य ३० जना अपाङ्गता भएका व्यक्तिको परिवार तथा १७ जना विपन्न परिवारलाई वितरण गरिएको छ । लकडाउन पिडित विपन्न परिवारको घरघरमै पुगेर राहत वितरण गरिएको गायक कर्णदासले बताए ।

खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ । राहतमा १० देखि २० किलो सम्म चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको गायक भाइ गुरुङ्ग जानकारी दिए ।रामबजार क्षेत्रको व्यवस्थापन गायक आनन्द बज्राचायले गरेका थिए । उनले स्थानिय र जनप्रतिनिधीसंग सहकार्य गरि राहत पाउनुपर्ने अपाङ्गता भएका परिवारको पहिचान गरेको बताए । राहत पाएपछि अपाङ्गता भएका व्यक्तिहरुको मुहार खुसी छाएको थियो । राहत वितरण कार्यक्रममा गायक कर्णदास, भाइ गुरुङ्ग, विनोद वानिया, भाष्करध्वज श्रेष्ठ, आनन्द बज्राचार्य, शान्त बज्राचार्य, संगीतकार सुनिल थापा, तेज केसी, तिल गुरुङ्ग, बसन्त थापा र गीतकार राजेन्द्र अधिकारी सहभागी थिए ।

यसअघि संघले पोखरा–६ लेकसाइडका जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवार गरि ५३ परिवार तथा पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण गरेको हो ।

Facebook Comments