राहत प्याकेज माग्दै पोखरेली पर्यटन व्यवसायी काठमाडौंमा

सन्देश श्रेष्ठ पोखरा, चैत २

पोखरेली पर्यटन व्यवसायीले कोरोना भाइरसका कारण थला परेको पर्यटन धरासायीहरुलाई राहत प्याकेज घोषणा गर्न माग गरेको छ । गण्डकी प्रदेशका सांसद राजीव पहारीको नेतृत्वमा राजधानी काठमाडौं पुगेका पर्यटन व्यवसायीहरुले कोरोनाका कारण पर्यटक नआउँदा पोखराको पर्यटन व्यवसाय क्षतविक्षत भएकाले तत्काल राहत प्याकेज घोषणा गरेर पर्यटन क्षेत्रलाई राहत दिन माग गर्दै संघ सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले अर्थमन्त्री डा.युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई, परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको प्रदेश सांसद राजिव पहारीले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउँदै टोलीले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा आपतकालिन अवस्था सिर्जना भएको भन्दै पर्यटन व्यवसाय धरासायी भएको बताए । अरबौं रकम बैंकबाट ऋण लिई लगानी गरेको पर्यटन व्यवसाय अहिले धरासायी भएको उनीहरुको गुनासो छ ।

उनीहरुले कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, संकट व्यवस्थापन कर्जाको व्यवस्था गर्नुपर्ने, पुर्नकर्जाको माध्यमबाट व्याजदर घटाउनुपर्ने, जरिवाना, विलम्ब शुल्क हटाउनुपर्ने, व्यवसायीले विभिन्न शिर्षकमा तीनवटै सरकारलाई बुझाउनुपर्ने, कर तथा राजश्वमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, विद्युत महशुलमा सहुलियत प्रदान गर्नुपर्ने, घरभाडा तथा घरबहाल करमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कोरोना भाइरस संक्रमितलाई भरपर्दो तथा विश्वासिलो क्वारेन्टाईन सेन्टरको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

सांसद पहारीले ज्ञापनपत्र बुझाउँदै विश्व बजारमा नेपालले एक मात्र प्रतिपर्धा गर्न सक्ने व्यवसाय पर्यटन भएकाले यसलाई तीन वटै तहका सरकारले विशेष रुपमा गम्भीर रुपमा लिई सहयोग गर्नुपर्ने बताए । कोरोनाका कारण पर्यटन क्षेत्र धरासायी भएकाले पर्यटन व्यवसायीलाई सरकारले विशेष प्याकेजको घोषणा गरी पर्यटन व्यवसायलाई जोगाउनु तीन वटै सरकारको जिम्मेवारी भएको बताए ।

पर्यटन व्यवसाय ईतिहासकै शुन्य अवस्थामा पुग्न लागेको उल्लेख गर्दै उनले पर्यटन उद्योगमा भएको लगानीलाई संरक्षण गर्नका लागि सरकारका तर्फबाट कुनै पहल नभएमा उद्योग नै धरापमा पर्ने र यसले लगानी पलायन हुँदै राज्य नै असफलतातर्फ जाने चेतावनी दिए ।

ज्ञापन पत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले प्रदेश स्तरिय छलफल गरी सबै ठाउँको वास्तविक जानकारी लिइरहेको र छलफलबाट आएको निश्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने बताएको सांसद पहारीले जानकारी दिए । मन्त्री पोखरेलले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको जानकारी दिदै आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने पनि बताए । उनले जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेकोसमेत बताए ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न सरकार तयार रहेको बताएको सांसद पहारीले बताए । कोरोना भाइरस चाँडै नियन्त्रण हुनेमा विश्वास व्यक्त गर्दै उनले नियन्त्रण नभएको अवस्थामा प्राथमिकताको आधारमा योजना अघि बढाउने बताए ।

Facebook Comments