राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले तोक्यो नारायणकाजीसहितका उम्मेदवार

काठमाडौं १८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बिहान बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वेदुराम भुषाललाई पनि उम्मेदवार बनाउने निर्णय गरेको हो ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ ।प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ।त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ । त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन् ।सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ । खबरहब

Facebook Comments