राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका

काठमाडौँ, २१ असोज (रासस)- राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो ।

(रासस)
(रासस)
(रासस)
(रासस)
(रासस)

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाउनुभयो ।

राष्ट्रपतिबाट टीका
काठमाडौँ, २१ असोज (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उहाँले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।

राष्ट्रियगान गायन पछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।

राष्ट्रपतिले आफ्ना काका काकीबाट समेत टीका ग्रहण गर्नुभएको थियो भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिनुभयो ।

उपराष्ट्रपतिबाट टीका ग्रहण
काठमाडौँ, २१ असोज, रासस-उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट यसवर्षको दसैँको टीका ग्रहण गर्नुभएको छ ।

उहाँले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।
यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिनुभएको छ ।

(रासस)
Facebook Comments