राजधानी र नाममा सहमति जुटाउने प्रयास जारी

हेटौँडा, पुस २२ । प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न तीन दिनपछि पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।प्रदेशको स्थायी राजधानी र नामको बारेमा सहमति जुटाउन बिहीबार विहानबाट मुख्यमन्त्री निवासमा बैठक बसिरहेको छ ।नेकपाको सचिवालय बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वागमती प्रदेश राख्न नेकपा प्रदेश कमिटी र प्रदेश संसदीय दललाई दिएको निर्देशनमाथि संसदीय दलको बैठकमा फरक मतहरु आएपछि आइतबार बैठक बसेर मङ्गलबार बस्ने गरी स्थगित गरिएको थियो ।

मङ्गलबार बस्ने गरी बोलाइएको बैठकमा सहमति नजुट्ने देखिएपछि नेताहरु बैठक स्थगित गरेर काठमाडौँ लाग्नु भएको थियो ।गत शुक्रबार सुरु भएर तीन दिनसम्म चलेको को प्रदेश संसदीय दलको बैठकमा दुई नेतासहित ६४ जनाले धारणा राखेकोमा अधिकांश प्रदेश सभाका सदस्यहरुले नाम र स्थानप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।सहमति सम्भावना नदेखिएको पार्टी केन्द्रलाई जानकारी गराएपछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई काठमाडौँ बोलाइएको थियो ।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा भएको छलफलमा नेकपा प्रदेश कमिटीका इन्चार्ज शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशका मन्त्रीहरु र केही प्रदेश सभाका सदस्यहरुलाई पुनः प्रदेश राजधानी हेटौँडा र बागमती प्रदेश राजधानी रहने निर्देशन पुनः दिनु भएको थियो । नेकपाका प्रदेश कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको संसदीय दलको जारी बैठकमा पार्टी नेतृत्वको निर्देशन सुनाइने र सहमतिको गरिने जनाइएको छ ।

बैठकमा पार्टी प्रदेश कमिटीसहित यसअघि बोल्न बाँकी रहेका प्रदेश सभाका सदस्यहरु र प्रदेश मन्त्रीले बोल्ने कार्यक्रम तय भएको छ ।पार्टी नेतृत्वको निर्देशनपछि पनि बुधबारको प्रदेश सभा बैठकमा बोल्ने नेकपाका भक्तपुर, काभ्रेलगायतका जिल्लाका प्रदेश सभाका सदस्यहरुले प्रदेश राजधानी हेटौँडा अपायक हुने र पहिचानको आधारमा राजधानीको नाम राख्नुपर्ने धारणा राख्नु भएको थियो ।काभ्रे, भक्तपुर र नुवाकोटमा प्रदेश सभाका सदस्यले आफ्नो जिल्लामा र ती जिल्ला आसपासमा नेकपाका प्रदेश सभाका सदस्यहरुले आफू अनुकूलका जिल्लामा प्रदेश राजधानी हुनुपर्ने जिकिर गर्नु भएको थियो । गोरखापत्र अनलाइनबाट

Facebook Comments