रमाकान्त निर्मला फाउण्डेशन द्धारा निःशुल्क आँखा जाँच शिविर

पोखरा,१९ पुस । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं २ सार्दिखोलामा आज आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरबाट २९७ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
रमाकान्त÷ निर्मला फाण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ,नेप्राङ तथा छिमेकी वडाका स्थानीयबासिन्दाहरुले लाभ लिएका थिए ।

शिविरमा सहभागीहरुको हिमालय आँखा अस्पतालका प्राविधिक स्वास्थ्यकर्मीहरुले आँखाको परीक्षण गरी सबैलाई औषधी तथा ५५ जनालाई चस्मा वितरण गरेका थिए ।
परीक्षणमा आएकाहरु मध्ये सात जनामा मोती विन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल रेफर गरिएको छ । मोतिविन्दुको उपचारका लागि रु पाँच हजार शुल्क लाग्ने गरेकोमा शिविरमा सहभागीहरुलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने बताइन्छ ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले आँखामा कुनैपनि समस्या आउनसाथ स्वास्थ्य संस्थामा जँचाउनुपर्दछ र हेलचक्राई गर्नुहुँदैन भन्ने सन्देश वडाको तर्फबाट प्रवाह गरिएको बताउँदै नागरिकको स्वास्थ्यप्रति समग्र गाउँपालिका सचेत रहेको बताए ।

स्थानीयका हितका लागि गरिने जुनसुकै कार्यक्रमका लागि वडा कार्यालयबाट पूर्ण सहयोग र साथ रहने विश्वास दिलाउँदै गुरुङले शिविरका लागि आफ्नो वडा चयन गरेको धन्यवाद व्यक्त गरे ।
नेपाल नेत्रज्योती सङघ कास्कीका सभापति कृष्णबहादुर गुरुङले आँखा जाँच सम्वन्धी कार्यक्रमहरुको प्रोत्साहन गरिने र आँखा अस्पतालमा सहुलियत प्रदान गरिने बताए ।
हिमालय आँखा अस्पतालका प्रवन्ध निर्देशक डा. इन्द्रमान महर्जनले मानव जीवनका लागि आँखा सबैभन्दा संवेदनशील अङ्ग भएकाले यसको बढी ख्याल गर्नुपर्नेमा जोड दिए ।
आँखाका विरामीहरुलाई सहज र पायक पर्ने स्थानमै सेवा प्रदान गर्नका लागि अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा सहकार्यमा शिविर राख्ने गरेको उहाँले जानकारी दिए ।


फाण्डेशनका संरक्षक रमाकान्त बरालले आफ्नो परिवारको आम्दानीको केही रकम सामाजिक कार्यमा लगाउने उद्धेश्यले फाउण्डेशन स्थापना गरेको चर्चा गर्दै स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख बताए ।
“कुनै संस्था वा निकायबाट आर्थिक सहयोग लिएर कार्यक्रम गर्ने भन्दा पनि आफ्नै आम्दानीको केही अंश सामाजिक क्षेत्रमा लगाउने योजना हो । फाउण्डेशनका माध्यमबाट विकट तथा दुरदराजका गाउँमा स्वास्थ्य,शिक्षाका कार्यक्रम सञ्चालन गर्दछौँ।” बरालले भने ।

फाउण्डेशन स्थापनाको दुई महिनाको छोटो अवधिमै केही विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताउँदै संरक्षक बरालले संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा वार्षिक क्यालेन्डर तयार गरिने जानकारी दिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका सहसचिव सरोज बराल, फाउण्डेशनका उपाध्यक्ष मोहनचन्द्र पराजुली, सचिव लक्ष्मी कुँबर लगायतले आँखाको महत्वका बारेमा उल्लेख गरेका थिए ।

Facebook Comments