म्ह पूजा नेवार समुदायको राष्ट्रिय गौरवको पर्व

गौतमबुद्ध बज्राचार्य काठमाडौँ, १० कात्तिक-ओं आः हुं तिष्ठ बज्रासने हुं । अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल(सक्षम) विचार वा चित्त उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ ।

photo:Nishant Kayastha

व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्म चित्त उत्पत्ति हुनेछ, जसलाई धर्माेदय भनिन्छ । कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानको रूपमा रहेको म्ह पूजा गर्दा माथिका श्लोकहरुको उच्चारण गरिन्छ । यो म्ह पूजा हजारौँ वर्षदेखि मुलुकको राष्ट्रिय गौरवको रूपमा देशभरि चल्दै आइरहेको छ । स्वन्ति नखः अन्तर्गतको म्ह पूजा गैरनेवार समुदायबीच पनि सुपरिचित छ ।

विशेषगरी अरु समुदायको भन्दा छुट्टै मौलिक पहिचान भएको म्ह पूजामा विशेष प्रकारको मण्डप बनाई तयार गरिने हुँदा मण्डप हेर्ने जोकोही दर्शकको मन तान्छ । नेपाल संवत्अनुसार हरेक नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्ह पूजा (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ । म्ह पूजाको दिन अर्थात यही कात्तिक १२ देखि नेपाल संवत्अनुसारको नयाँ वर्ष शुरु हुन्छ । यो दिन नेवार समुदायमा न्हूदँया भिँतुना (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गरिन्छ ।

social media

रासससँग कुरा गर्दै बौद्ध विद्वान राजेन्द्रमान बज्राचार्यले आफ्नो शरीरभित्र रहेको चित्त शुद्धिकरण गर्न हजारौँ वर्षदेखि नेवार समुदायले म्ह पूजा गर्दै आइरहेको बताउनुभयो । नेवार समुदायमा म्ह पूजा औँशीको दिन गर्न नहुने मान्यता छ । सूर्योदयका साथ आएको चन्द्रमाको तिथिअनुसार म्ह पूजा मनाउनुपर्छ । स्वन्ति नखः (तिहार) का सबै दिन खुशीयालीका दिन भएकाले म्ह पूजा नेपाल संवत् ११४० कछलाथ्व पारुका दिन मनाउनुपर्छ ।

बज्रयान महासङ्घका अध्यक्षसमेत रहनुभएका बज्राचार्यका अनुसार नेवार समुदायमा स्वन्ति नखः मनाउँदा तिथिको दोहोरोपन अथवा तिथि छुटको गणना हुँदैन । तिथिको गणनाका कारण मानिसमा अलमल हुने गरेको पाइन्छ । म्ह पूजाका दिन बिहान सबैरै नुहाइधुवाई गरी आफूलाई शुद्ध पारी विभिन्न मौलिक नेवारी खाद्य परिकार तयार गरी मनाइने यो पर्वमा विशेष प्रकारको मण्डप बनाइन्छ । आठ पाते (कमलको आठवटा पात) कमलको आकृति भएको मण्डपमा जल मण्डप (पानीको मण्डप), पोताय् मण्डप (एक प्रकारको सेतो रङबाट बनाइएको मण्डप) तथा तेल मण्डप बनाई आँखे (सिङ्गो चामल), ताय् (लावा), ग्वगु माय् (सिङ्गो मासको दाल), हाकुमुस्या (कालो भटमास) र वा (धान) आदि राखेर छुट्टाछुट्टै मण्डप बनाइन्छ ।

नेपाल मण्डलको महायान बज्रयान परम्परामा म्ह पूजा गर्दा सम्यक सम्बोधी मार्गमा मार्गस्थ हुन भवचक्रको (जन्म मरणबाट मुक्ति) ज्ञान प्राप्त गरी शरीर, वचन र चित्तबाट हुने दश अकुशलवादी (खराब काम) कर्मबाट मुक्त हुने विश्वास छ । बुद्ध, धर्म र सङ्घ मण्डललाई पूजा गरी शून्यताको ज्ञान प्राप्त गर्ने प्रक्रिया म्ह पूजा हो । यसबाट व्यक्तिमा मैत्री, करुणा, मुदिता (अरुको प्रगतिमा खुशी हुने) र उपेक्षा भाव पैदा भई सम्यक सम्बोधी मार्गमा प्रशस्त हुने जनविश्वास छ । नेवार समुदायमा सूर्योदयले समेटेको कछलाथ्व प्रतिपदाको दिन बेलुकी म्ह पूजा गर्ने परम्परा रहिआएको छ । लामो समयदेखि बौद्धदर्शनमा अनुसन्धान गर्दै आउनुभएका बौद्धअध्येता

आनन्दमुनि बज्राचार्यका अनुसार नेवार समुदायको एक विशिष्ट पहिचानको रूपमा शदियौंदेखि रहिआएको म्ह पूजा नेवार समुदायको मौलिक भाषा तथा लिपिपछि ‘म नेवार हूँ’ भनी चिनाउने एक मौलिक विशेषता हो । “बज्रयन बौद्धधर्ममा म्ह पूजा पूर्णतः वैज्ञानिक अवधारणाभित्र पर्दछ । बौद्धधर्ममा आत्मालाई शरीरको एक काल्पनिक अवस्था मात्र मानिन्छ । यसकारण म्ह पूजाको छुट्टै विशेष महत्व छ । आजभोलि म्ह पूजा नेवार समुदायको मात्र नभई समग्र नेपाली र विश्वकै साँस्कृतिक महत्व बोकेको सम्पदाको रूपमा विकास भइरहेको छ”, बज्राचार्य भन्नुहुन्छ । व्यक्तिको शरीर, वचन र चित्तको संयोजनबाट बनेको हुन्छ तथा आफ्नो शरीर सबैभन्दा ठूलो पूजनीय हो भन्ने म्ह पूजाको सन्देश रहेको बौद्धविद्धान यज्ञमानपति बज्राचार्यको “नेपाःया प्राचीन बज्राचार्य लीलाबज्र” नामक पुस्तकमा उल्लेख छ । सो पुस्तकमा भगवती लक्ष्मीकरा (ई.७२९) ले मानव शरीरलाई विशेष महत्व दिनुभएको छ । लक्ष्मीकरा बज्रयान बौद्ध धर्ममा ८४ सिद्धा (सिद्धहस्त विद्घान) मध्ये एक हुनुहुन्छ । लक्ष्मीकरा गुरू पद्मसम्भवको फुपू हुनुहन्छ । लीलाबज्र उहाँको शिष्य हुनुहुन्छ ।

यसकारण लीलाबज्रको समयबाट म्ह पूजाको प्रारम्भ भएको हुनुपर्दछ । तत्कालीन समयको महान प्रकाण्ड बौद्धविद्धान लीलाबज्रले काष्ठमण्डप, सिंल्यं सतः(काष्ठमण्डप निर्माण गरी बाँकी भएको काठबाट बनेको सत्तल), श्रीखण्ड तरूमूल महाविहारजस्तो गरिमामय सम्पदाको निर्माणका साथै विभिन्न नेपाल भाषाका चर्या गीत जस्ता दार्शनिक रचना गर्नुभएको थियो । यी विश्वकै उत्कृष्ट साहित्य हुन् । लीलाबज्रले विश्वको पहिलो विश्वविद्यालय नालन्दा विश्वविद्यालय तथा विक्रमशील महाविहार जस्ता भारतका तत्कालीन बौद्ध शिक्षण संस्थामा प्राध्यापन गर्नुभएको थियो । दोस्रो तथ्य हो, पहिले काठमाडौंँ शहरको विकसित स्थान हालको विशालनगर हो । सो क्षेत्रमा ठूलो आगलागी हुँदा त्यहाँबाट बाँचेर आउन सफल हुनेहरूले ठूलो विपत्तिबाट ज्यान जोगाउन सफल भएको स्मरणस्वरूप आफ्नो शरीरको पूजा गरी सगुन लिने तथा म्ह पूजा गर्ने परम्परा शुरू भएको जनविश्वास पनि छ । व्यक्तिले आफ्नो मन शुद्ध गरी कुशल कार्यसम्पादन गर्न आफूलाई योग्य बनाउने तथा कुशल कार्य गरी बुद्धत्व मार्ग ग्रहणबाट मानिसभित्र रहेको दुःख सदाको लागि अन्त हुन्छ ।

म्ह पूजाकै दिन नेपालमा नयाँ युगको शुभारम्भ भएको दिन पनि हो । म्ह पूजाकै दिन नेपाल देशको नामबाट स्थापित नेपाल संवत्को नयाँ वर्ष शुरु भएको पवित्र दिन पनि हो । महाचीनबाट आउनुभएका मञ्जुश्रीले तालको रूपमा रहेको काठमाडौँ उपत्यकालाई बस्तीयोग्य बनाएपछि नेवारहरुको सभ्यताको शुरुआत भएको इतिहास छ । किराँत, लिच्छवी, मल्ल तथा आधुनिककालसम्म आउँदा ती समुदायले काठमाडौँ उपत्यकामा मन्दिर, सत्तल पाटी पौवा, भाषा, साहित्य, कला, जात्रा, चाड पर्वजस्ता मूर्तअमूर्त सम्पदा निर्माण गरेका थिए । यी सम्पदा नेपालको अमूल्य साँस्कृतिक धरोहरका रूपमा विश्वप्रसिद्ध छन् ।

म्ह पूजा गर्ने व्यक्तिलाई दिइने अण्डा सगुनमा अण्डाले आकाश तत्व, माछाले जल तत्व, मासुल स्थल तत्व तथा अयला (रक्सी)ले तेज तत्वको प्रतिनिधित्व हुने विश्वास गरिन्छ । म्ह पूजाका दिन नयाँ कुचो, एउटा नाङ्लो तथा पानीको घडालाई पनि देवताको प्रतीकका रूपमा मण्डपमा सजाएर राखिन्छ ।रासस

Facebook Comments