म्याग्दीमा गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा गरे सामूहिक खेतीमा


बेनि जेठ १० रासस
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी ९लकडाउन० का कारण गाउँमा फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन् ।म्याग्दीको मालिका गाउपालिका–६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो । ६० रोपनी जग्गामा सिमी लगाइसकेका छन् । थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवा खनजोतमा जुटेका छन् ।

वैदेशिक रोजगारी र बसाइसराइँका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाँझिएको थियो । लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेती गरिएको स्थानीयवासी सर्गप्रसाद रोकाले बताउनुभयो । “१६ जना जग्गाधनीले १० वर्षका लागि खेती गर्न भाडा नलिने गरी जग्गा दिएका छन्,” उहाँले भन्नुभयो, “मान्छेभन्दा अग्लो, स्याल लुक्ने झाडी फाडेर खनजोत गरी गहत, सिमी र भटमास लगाएका छाँै ।”बाँझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो । झाडी फाड्न सहकारीले रु एक लाख २२ हजार ज्याला दिएर १४८ जना बराबरको काम लगाएको थियो । छ हल गोरुलाई हलीसहित दैनिक रु एक हजार २०० दिएर छ दिन लगाएर बाँझो जोतिएको छ । झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौँबाट आएका युवा संलग्न छन् ।

बन्दाबन्दीपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाँझो जोत्ने काम गरेको बताउनुभयो । बच्चा हुँदादेखि नै बाँझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकामा दिपेश शेरपुजाले खुशी व्यक्त गर्नुभयो । दुखुमा ९८ घर छन् । आधाजसो बसाइसराइँ गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौँ गएका छन् । उनीहरुले खेती गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन् ।उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारी र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामूहिक खेती शुरु गरेको वडा सदस्यसमेत रहनुभएका स्थानीयवासी पथबहादुर रोकाले बताउनुभयो । कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमी, गहत र भटमास चर्चित थियो । पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे । अहिले गाउँमै सडक पुगेको छ । बजारको समस्या छैन ।

उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताउनुभयो । कृषि उपज बजारीकरण गर्न दरवाङमा कोसेलीघर स्थापना गरेको उहाँले बताउनुभयो । मालिका गाउँपालिकाले सातवटै वडामा सम्भावनाको आधारमा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । हावापानी र भूगोलअनुसार फलफूल, तरकारी, दलहन, पशुपालन र जडीबुटी खेतीका लागि पकेट क्षेत्र बनाएको वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।दुखुमा दलहन र टिमुरखेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु छ लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । “दिच्याममा किबीखेती शुरु गरिएको छ”, उहाँले भन्नुभयो “ढाँडखर्कमा गोलभेँडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ ।”

Facebook Comments