मेजर चन्द्रबहादुर सम्मानित, संविधानले सबै भाषा, धर्म, संस्कार र संस्कृति रक्षाको ग्यारेन्टी गरेको छ,: सभामुख अधिकारी

आरजू, पोखरा माघ ०१ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले समाजसेवी मेजर चन्द्रबहादुर पहरे पुन मगरलाई आज एक समारोहबिच सम्मान गर्नुभएको छ ।

नेपाल पुन मगर समाज केन्द्रीय समितिले प्रकाशनमा ल्याएको “पुन मगर समुदायको संस्कार, कर्मकाण्ड” नामक पुस्तकको वुधवार पोखरामा पुन मगर समाज केन्द्रीय समितिद्धारा आयोजित विमोचन समारोहका प्रमुख अतिथि अधिकारीले उहाँलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

समाजसेवामा निरन्तरा लागिरहनु भएका मेजर पुन मगरको क्रियाशिलताबाट आफु प्रभावित भएको बताउँदै सभामुख अधिकारीले आफ्नो समुदायमा प्रचलित जन्म देखि मरण सम्मको संस्कार संस्कृतिको बारेमा उहाँले पुस्तक प्रकाशनको जोहो गर्नु अनुकरणिय कार्य भएको बताउनु भयो ।

हामीले नै हो आफ्नो भेषभुषा, संस्कार र संस्कृतिको संरक्षण् गर्ने र आउँदो पुस्तालाई हस्तान्तरण गर्ने, हाम्रो पहिचान यिनैमा छ, संविधानमा पनि सबै किसिमको असमानता हटाउने लेखिएको छ, भाषा, धर्म, संस्कार र संस्कृति रक्षाको ग्यारेन्टी गरेको छ, सभामुख अधिकारीले भन्नुभयो ः“आफ्नो भाषा, संस्कार संस्कृतिको लागि जे गर्नुभएको छ, यो एकदमै राम्रो शुरुवात हो ।”

सम्मानित व्यक्तित्व मेजर चन्द्रबहादुर पहरे पुन मगरले पुन मगर समुदायको संस्कार संस्कृति हराउन लागेकोमा चिन्ता व्यक्त गर्दै आउने पुस्ताले पनि थाहा पावस् र आफ्नो पहिचानको विकासमा लाग्न सकोस् भनेर समाजद्धारा पुस्तक प्रकाशन गरिएको बताउनु भयो । कार्यक्रममा उहाँले पुस्तक प्रकाशनको लागि खर्च भएको ६० हजार रुपैयाँ पुन मगर समाजलाई हस्तान्तरण गर्दै समुदायको विकासको लागि बाँचुञ्जेल खटिईरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पुन मगर समुदायको महान चाड माघे संक्रान्तिको अवशरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा पुस्तक विमोचन कार्यक्रममा वक्ताहरुले पुन मगरका मुख्य चाडहरु साउने संक्रान्ति, माघे संक्रान्ति र भूमे पूजाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा समुदायको सोरठी तथा विभिन्न सांस्कृतिक कार्यक्रम देखाईएको थियो ।

यसअघि कार्यक्रममा सहभागिलाई नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष हर्क बहादुर पुन मगरले स्वागत गर्नुभएको थियो भने कार्यक्रम उहाँकै अध्यक्षतामा भएको थियो ।

Facebook Comments