मुस्ताङ्चोकदेखि हल्लनचोकहुँदै जिरोकिलोमिटरसम्मको सडक स्तरोन्नती हुने

सन्देश श्रेष्ठ पोखरा, पुष ४ । पोखराको मुख्य पर्यटकीय क्षेत्र जाने मुस्ताङ्चोकदेखि सहिदचोक, हल्लनचोकहुँदै जिरोकिलोमिटरसम्म पुग्ने सडक स्तरोन्नती हुने भएको छ । पोखराको भित्री बाटाहरु निर्माण गर्ने योजना अनुरुप प्रदेश सरकारले सहीदचोक–हल्लनचोक–जिरोकिलोमिटर सडकको ५.३ किलोमिटर स्तरोन्नती गर्न लागेको हो । सडक स्तरोन्नतीको ईलाइट मोतिदान जेभी काठमाडौंले जिम्मा लिएको छ । सडक स्तरोन्नती गर्नेबारे शुक्रबार पुर्वाधार विकास कार्यालय र सडक निर्माणको जिम्मा पाएको ईलाइट मोतिदान जेभी काठमाडौं बीच सम्झौता भएको छ । सम्झौता पत्रमा पूर्वाधार विकास कार्यालयको तर्फबाट सिनियर डिभिजनल ईञ्जिनियर सोभियत खड्का र निर्माण कम्पनीका तर्फबाट कम्पनीका प्रोपाइटर राजु रानाभाटले हस्ताक्षर गरे ।

११ करोडको लगत स्टिमेट भएपनि ९ करोड ५७ लाखमा निर्माण गर्ने सम्झौता भएको पुर्वाधार विकास कार्यालय गण्डकी प्रदेशका सडक डिभिजनल ईञ्जिनियर सोभियत खड्काले जानकारी दिए । २०७७ साल असार २५ गतेसम्ममा सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडक अस्फाल्ट प्रविधीबाट निर्माण गरिने जनाइएको छ । सडकलाई २ भागमा विभाजन गरेर निर्माण गरिनेछ । मुस्ताङचोकदेखि सहीदचोकहुँदै हल्लनचोकसम्मको बाटोको अवस्था अहिलेपनि राम्रो भएकाले त्यहाँ अहिलेकै सडकमाथि ५ सेन्टिमिटर मोटाई (थिकनेस) बढाउने भनिएको छ । तर बिग्रिएको ठाउँमा आवश्यक्ता अनुसार भत्काएर नया निर्माण गर्ने भिएको छ । बाँकी हल्लनचोकदेखि जिरोकिलोमिटरसम्मको बाटो भने पूरै भत्काएर नया बनाउनुपर्ने सम्झौतामा उल्लेख भएको ईञ्जिनियर खड्काले जानकारी दिए ।

सडक बनाउँदा निर्माण कम्पनीले बाटोको राइडिङ क्वालिटी गुणस्तरिय बनाउनुपर्ने, सडकको दायाँबायाँ रहेका चौतारोको संरक्षण गर्दै बाटोमा रहेका फुलका बोट विरुवाहरुकोपनि गार्डेनिङ गर्नुपर्ने र लेकसाइड क्षेत्रमा बर्खा याममा पानी सिधै सडकमा आउन नपाउनेगरी बाइपास हुने ड्रेनेज म्यानेजमेन्टको ब्यबस्था गर्नुपर्ने जनाइएको छ ।

यो बाटो निर्माणका लागि गण्डकी प्रदेश सदस्य राजिव पहारीले पहल गर्दै आएका थिए । सडक निर्माणको सम्झौता भएपछि सांसद पहारीले खुशी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्ने बताए । यसका लागि आफूलेपनि दवाब दिइरहने बताए ।

Facebook Comments