मिर्गौला पिडित मनिषा गुरुङलाई ६ लाख ३४ हजार सहयोग रकम हस्तान्तरण

पोखरा, ४ मंसिर । दुबै मृगौला पिडित भई उपचारत २४ बर्षिया मनिषा गुरुङको मृगौला प्रत्यारोपणको लागि दिदिबहिनीहरुको सेवा र अवसरका लागि हालै दर्ता भएको सञ्जीवनी दिदिवहिनी केन्द्रले ६ लाख ३४ हजार ३४० रूपैयाँ हस्तान्तरण गरिएको छ।

हङकङ निवासी बरिष्ठ सामाजिक अभियन्ता, संजीवनी दिदिवहिनी केन्द्रका संस्थापक सदस्य तथा हङकङ संयोजक कमला गुरुङको सक्रियतामा हङकङमा सङकलित उक्त रकम एक कार्यक्रम आयोजना गरी संजीवनी दिदिबिहनी केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाउ अभियानका सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सचिव शेरबहादुर गुरुङ र कोषाध्यक्ष रोबिन गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।

रोयल दिदिबहिनी किचनमा आयोजिय उक्त कार्यक्रममा सञ्जीवनीकी अध्यक्ष बिना गुरुङले सञ्जीवनी दिदिवहिनी केन्द्रको स्थापना, आवाश्यकता, उद्धेश्यका बारेमा जानकारी दिनुहुदै संस्था दर्ता पश्चात पहिलो कार्यक्रम मिर्गाैला पीडित मनिषालाई आफुहरु मार्फत हस्तान्तरण गरिएको सहयोगले उनले नयाँ जीवन पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मनिषा बचाउ अभियानका सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले संजीवनी दिदिबहिनी र समाजसेवी कमला गुरुङको सेवा एवम सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँका अनुसार चिकित्सकले करिब २० लाख खर्च लाग्ने भने पनि आफुहरुले २५ लाख संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म स्वदेश विदेश गरी करिब ४० लाख रुपैया सहयोग संकलन भएको बताउनुभयो। आफुहरु मनिषाको सक्दो छिटो मिर्गौला प्रत्यारोपणका लागि पहल गरिरहेको समेत जानकारी दिनुभयो।

कार्यक्रममा सञ्जीवनी दिदिबहिनी केन्द्रकी अध्यक्षकोषदाता एवम रोयल दिदिबहिनी किचनकी सञ्चालक रुद्रकुमारी गुरुङ मैनाले सञ्जीवनी दिदिवहिनी केन्द्र, सहयोग संकलन अभियन्ता कमला गुरुङ र मनिषा बचाउ अभियानका सहयोग समितिलाई मनिषा गुरुङको उपचारका लागि अत्यन्तै महत्वपुर्ण पहल गरेकोमा धन्यवाद दिनुभएको थियो।

उक्त कार्यक्रममा कमला गुरुङको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै मनिषा बचाउ अभियानका सहयोग समितिले सञ्जीवनी दिदिवहिनी केन्द्र मार्फत अभियन्ता कमला गुरुङलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो।

यसैविच अभियन्ता कमला गुरुङको जन्मदिन समेत परेकाले केक काटेर कार्यक्रममा सहभागीहरुले जन्मदिनको शुभकामना समेत व्यक्त गरेका थिए।

Facebook Comments