मान्छे मार्ने जिर्ण संरचना ब्यबस्थापन गर्न प्रदेश सांसद कोइरालाको माग

सन्देश श्रेष्ठ पोखरा, माघ १२

गण्डकी प्रदेश सांसद दीपक कोइरालाले गण्डकी प्रदेशको राजधानी पोखरामा बनाइएको जिर्ण भौतिक संरचना ब्यबस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

गण्डकी प्र्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कोइरालाले कुलो, नहर र नालीमा रहेको जिर्ण भौतिक संरचनाका कारण २ वर्षको अवधीमा १८ जनाको ज्यान गइसकेको भन्दै अब थप मृत्यू रोक्न जिर्ण भौतिक संरचना ब्यबस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । हामीले बनाएका भौतिक संरचनाका कारण हाम्रै ज्यान गइरहेको छ,‘उनले भने,‘कहिलेकाहिं त लाग्छ हामीले बनाएको हाम्रै संरचनाले हाम्रै मृत्यू त कुरिरहेको छैन ? ।’

सांसद कोइरालाले कुलोमा परेर मृत्यू हुनेमा अधिकांश बालबालिका रहेको तथ्यांकसमेत प्रस्तुत गर्दै अब बनाइने भौतिक संरचना बालमैत्री र दुर्घटनारहित हुने खालको बनाउनुपर्ने बताए । प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर तत्काल जोखिम न्यूनिकरणका लागि काम गरिहाल्नुपर्ने बताउँदै उनले भने,‘जिर्ण संरचनाको ब्यबस्थापन र नया बनाउने संरचना कसरी बालमैत्री बनाउने ? कसरी सुरक्षित बनाउने भन्नेतर्फ लाग्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

सांसद पियारी थापाले मुख्यमन्त्रीले बजेट सार्वजनिक गर्दा धुम मच्चाउने बजेट ल्याएको भन्दै लगाएको फूर्ति ६ महिनामै झरेको टिप्पणी गरिन् । ६ महिनाको अवधीमा प्रदेश सरकारले १५ प्रतशित मात्र बजेट खर्च गरेर आफ्नो औकात देखाइसकेको छ,‘उनले प्रश्न गर्दै भनिन्,‘कमजोर खर्च प्रणालीबाट के देश र जनताले आशा गरेको विकास र समृद्धीको सपना पुरा होला ? ।’ उनले अहिलेको बजेट खर्चले यस वर्षपनि असारमा बजेटको भेल बग्छ भन्ने निश्चित गरेको टिप्पणी गरिन् ।

सांसद हरिशरण आचार्यले जनताको भावना मुखरित गर्ने सांसद आफैले मान्छेलाई फुटबल खेलेको भन्दै प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको आलोचना गरे । एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेर सांसद मनाङेले प्रदेश सभाकोसमेत बेइज्जत गरेको उनको भनाई थियो । साथै उनले मर्यादित पदमा रहेर अमर्यादित कार्य गर्ने व्यक्तिलाई पदमा राखिराख्न मिल्छ कि मिल्दैन भनेर सभामुखलाई प्रश्नसमेत गरेका छन् ।

सांसद विन्दुकुमार थापाले जो रक्षक उहि भक्षक भनेजस्तो गरेर प्रदेश सांसद दीपक मनाङेले एन्फा कास्की अध्यक्षलाई कुटपिट गरेकोप्रति आपत्ति जनाए । सांसद मनाङेका कारण सम्मानित प्रदेश सभाको अपमान हुनुका साथै अन्य प्रदेश सांसदको शीर निहुराएको बताए । उनले घट्नाको निश्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गर्नसमेत माग गरेका छन् ।

शुन्य समयमा बोल्दै सांसद मिना गुरुङले सरकारले जतिसुकै भनेपनि उद्योगी, व्यवसायीले सहुलियत दरमा कर्जा पाउन नसकेको बताइन् । उद्यमशीलतामा लागेका महिलाहरुलाई सहज रुपमा कर्जा पाउने ब्यबस्था गरिदिन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

विज्ञान तथा प्रविधि प्रतिष्ठान विधेयक विधायन समितिमा

गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक विधायन समितिमा पठाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गत माघ ७ गते प्रदेश सभामा प्रस्तुत गरेको विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो । प्रदेश सभाको आइतबारको बैठकमा मन्त्री लम्सालले विधेयक दफावार छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।

Facebook Comments