मानव विकास पूर्वाधारमा जोड दिऔं मुख्यमन्त्री गुरुङ

सन्देश श्रेष्ठ पोखरा, मंसिर २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव विकास पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन् । मानव विकास रिपोर्ट २०१९ को मंगलबार पोखरामा सार्वजनिक गर्दै उनले भौतिक पूर्वाधारसँगै मानव विकास पूर्वाधारमा पनि जोड दिनुपर्ने बताएका हुन् । शिक्षा, स्वास्थ्यलगायतमा लगानी बढाएर प्रत्येकको शिक्षा र स्वास्थ्यको ज्ञारेन्टी गर्न सकियो भने त्यसले मानव विकासमा गुणात्मक फड्को मार्ने बताए ।

मानव विकासको प्रमुख आधार शिक्षा क्षेत्र सबैभन्दा धेरै भद्रगोल र अस्तब्यस्त रहेको उनले टिप्पणी गरे । त्यसैले शिक्षामा गुणात्मकता बढाउनका लागि राज्यको लगानी बढाउनुपर्ने भएपनि त्यो चुनौतिपूर्ण रहेको उनले बताए । नीजि क्षेत्रलाई अस्पताल, विश्वविद्यालय सञ्चालन गर्ने होइन,‘उनले भने,‘नीजि क्षेत्रलाई त ठूलठूला उद्योग, कलकारखाना खोल भन्नुपर्ने हो, तर हाम्रो नेपालमा शिक्षा र स्वास्थ्यमै ठूलो मात्रामा नीजि क्षेत्रको लगानी छ ।’ उनले गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधारमा भन्दा मानव विकास पूर्वाधारमा जोड दिएको उल्लेख गरे ।

पोखरा विश्वविद्यालयका उपकुलपति ई.बुद्धिराज जोशीले मानव विकास पूर्वाधारलाई भन्दा भौतिक पूर्वाधारलाई जोड दिदा नेपाल पछि परेको टिप्पणी गरे । सरकारले विश्वविद्यालय खोल्यो,‘उनले भने,‘तर विश्वविद्यालयको केयर गरेन ।’ उनले राज्यले कयौं पटक रिसर्च गर्न लगाएपनि त्यसले दिएको प्रतिवेदनलाई कार्यान्वयन नगरेको गुनासो गरे । राज्यले शिक्षा र स्वास्थ्यमा निःशुल्क गरिदिए मात्रैपनि मान्छेले पैसाको लागि मरिहत्ते गर्ने अवस्था नआउने बताए ।

कार्यक्रममा मानव विकास रिपोर्टप्रति गण्डकी प्र्र्रदेशका प्रमुख न्यायाधीवक्ता डा.राजेन्द्र घिमिरे, रिसर्चर प्राध्यापक ईन्द््रप्रसाद तिवारी, गण्डकी प्रदेशको नीति तथा योजना आयोगका सदस्य डा.विष्णु बराल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र कोपिला नेपालकी बिना सिलवालले प्यानल डिस्कसन गरेका थिए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डा.गिरीधारी शर्माले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख न्यायाधीवक्ता डा.घिमिरेले पहिले आर्थिक विकासमा ध्यान दिएपनि अहिले आएर मानव विकास पूर्वाधारमा ध्यान दिन थालिएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

रिसर्चर तथा प्राध्यापक ईन्द्रप्रसाद तिवारीले शिक्षामा नेपाल कमजोर भएकाले शिक्षा पूर्णतः निःशुल्क गरेर समानतामा आधारित शिक्षा दिइनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मानव संसाधनलाईपनि मानव विकास श्रोतको रुपमा गणना गर्न थालिएकोमा खुशी व्यक्त गरे । उनले भौतिक पूर्वाधारसँगै मानव विकास पूर्वाधारलाईपनि जोड दिनुपर्ने भन्दै त्यसका लागि मिडियाले सँधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कोपिला नेपालकी बिना सिलवालले विभेदलाई अन्त्य गरेर लैंगिक समानता कायम गर्नुपर्नेमा जोड दिइन् ।

नीति तथा योजना आयोगका सदस्य डा.विष्णु बरालले हाल आएर राज्यले सामाजिक विकासमा जोड दिन थालेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव विकास रिपोर्ट सार्वजनिक गरेका थिए । यसअघी राजधानीमा मात्रै सार्बजनिक गर्दै आएको यो रिपोर्ट प्रदेशमा पहिलोपटक सार्वजनिक गरिएको हो ।

Facebook Comments