महेन्द्रनगरको डान्स बारबाट युवतीसहित मेयर पक्राउ

महेन्द्रनगर १४ पुस । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख मेयर अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् ।नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् ।डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो ।डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको थियो ।

प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पु¥याएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए ।आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए ।

‘डान्स बारमा दुई समूहबीच विवाद भएको थियो । एउटा समूहले मेयर धामीलाई पनि बोलाएको रहेछ । विवाद मिलाउन भनेर उहाँ डान्स बार पुगेको भन्ने कुरा आएको छ,’ डिएसपी चन्दले खबरहबसँग भने ।दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीको कञ्चनपुरको भीमदत्त नगरपालिकामा समेत घर छ ।पक्राउ परेको विषयमा जानकारी लिन खोज्दा मेयर धामीसँग भने सम्पर्क हुन सकेन । खबरहब

Facebook Comments