महिला लिगमा चितवन र काठमाडौं विजयी

महिला च्याम्पियन्स लिग टि–२० क्रिकेटमा पोखरा पल्टन चितवन राइनोजसँग पराजित भएको छ । आजको पहिलो खेलमा चितवनसँग सात विकेटले पराजित भएपछि पोखराको प्लेअफ पुग्ने सम्भावना सकिएको छ।

कीर्तिपुर मैदानमा पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभर १ बलमामा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् । पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले ७१ रनको साझेदारी गरे ।

कञ्चनले २९ रन बनाइन् । त्यस्तै इन्दु बर्माले २४ रन जोडिन् । बलिङतर्फ अञ्जली चन्दले दुई विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान सिता रानामगरले सर्वाधिक ६५ रन बनाएकी थिइन् । उनले अर्धशतक बनाउँदा ७ चौका प्रहार गरिन् । त्यसलगतै छक्का प्रहार गरिन् । अन्तिममा मन्जु बोगटीले आक्रामक सट खेल्दै २४ रन जोडिन् ।

उनले २ छक्का र २ चौका प्रहार गरिन् । चितवनका लागि ४ ओभर बलिङ गरेकी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिइन् । आजै भएको अर्को खेलमा क्वाट क्विन्स काठमाडौंले विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गरेको छ ।

काठमाडौंले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि लक्ष्मी चौधरीले अविजित ४० र डोली भट्टले १३ रन बनाईन् । काठमाडौंकी सुमन बिष्टले २ विकेट लिईन् । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

काठमाडौंका लागि रोमा थापाले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३५ रन जोडिन् । रश्मी चौलागाईंले ३४ रन बनाईन् ।

विराटनगरकी डोली भट्टले १ विकेट लिईन् । जितसँगै काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ । सुरुवाती दुई खेल जितेको विराटनगरको यो पहिलो हार हो । विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ।

Facebook Comments