महानगरद्वारा सरसफाइ कर्मचारीलाई सुरक्षा सामग्री प्रदान

पोखरा, १९ वैशाख
मे १ अर्थात मजदुर दिवसमा पोखरा महानगरपालिकाले सरसफाइ शाखा र ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीलाई सुरक्षा सामग्री प्रदान गरेको छ ।कोरोना भाइसरको जोखिम रहेको बेलामा सरसफाइ र ल्यान्डफिलसाइटमा काम गर्ने कर्मचारीको सुरक्षाको लागि सामग्री महानगरपालिकाले प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सरसफाइ शाखा प्रमुख कल्पना बराल र ल्यान्डफिल साइटका इन्चार्ज रेशम जिसीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।सरसफाइ शाखामा २० जना र ल्यान्डफिल साइटमा १२ जना कर्मचारी कार्यरत छन् । ३२ जना कर्मचारीलाई सर्जिकल मास्क, गमबुट, सेनिटाइजर, पञ्जा साबुन प्रदान गरिएको हो ।सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले कर्मचारीको स्वास्थ्यको सुरक्षाप्रति महानगर सचेत रहेको बताउँदै कर्मचारी स्वास्थ्य बिमालाई पनि महानगरले प्राथमिकतामा राखेको बताए ।

कोरोना महामारीको समयमा सचेत भएर काम गर्न पनि कर्मचारीलाई जिसीले आग्रह समेत गरेका छन् । कर्मचारीलाई अनिवार्य रुपमा सामग्री प्रयोग गरेर मात्र काम गर्न पनि जिसीले निर्देशन दिए । कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ सहभागी थिइन् ।

Facebook Comments