मनाङेले हिर्काए एन्फा अध्यक्ष मिलनलाई मुक्का

सन्देश श्रेष्ठ पोखरा, माघ ७ । गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्याएका छन् । गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन् ।

पटक÷पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए । मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए । आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो । आसनग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो । त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भनेर प्रश्न गरे ।

जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्र्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए । मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आक्रोस पोखे । त्यो बिचमा दुई जनाबीच केहिबेर भनाभन भयो । करीब ५÷७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा धकेले । मनाङेले हात हालेपछि मिलनले छल्न खोजे । त्यहिबेला फेरि मनाङेले लात्तिले खुट्टामा प्र्रहार गरे । सो प्र्रहारपनि सोंचेजस्तो नलागेपछि मनाङेले गालामा प्रहार गरे । उनको प्रहार गालाको तल्लो भागमा लाग्यो ।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए । अभ्यास मैदान मिलाउँदा मिलाउँदैपनि आफूलाई पिटेको उनको भनाई छ । हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भन्दिइसकेका छौं,‘उनले भने,‘तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले ममाथि पोखेको हो ।’ प्रतियोगितामा बिफोर डे र आफ्टर डे हुन्छ,‘उनले भने,‘त्योबाहेक हामीले टिमलाई ब्यबस्था गर्न सक्दैनौं, जबरजस्ती गर भनेरमात्र हुँदैन ।’ आफूलेपनि मुक्का फर्काउनसक्ने भएपनि सांसद भनेर छाडेको उनले बताए । मैलेपनि हान्न सक्थेँ,‘उनले भने,‘तर सांसद भनेर हानिनँ, खेल बिथोलिन्छ कि भनेरपनि सहेर बसेँ ।’ आफू पिटिएपनि प्रहरीमा जाहेरी भने नदिने उनले बताए ।

सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले झुक्याउने काम गरेकाले झापड हानेको बताए । मैले धकेलेको मात्रै होइन झापड हानेको हुँ,‘उनले भने,‘त्यो मिलन भन्ने मान्छे कामै नलाग्ने रहेछ, त्यो त ठग पो रहेछ, त्यसलाई सबक सिकाउन झापड हानेको हुँ ।’ कहिले प्रदेश प्रहरीको खेल मैदान त कहिले कोमागाने पार्कको झार भएको ठाउँमा अभ्यास गर भन्छ,‘उनले थपे,‘तर प्रहरीले अझै मैदान दिएको छैन, खेलाडीलाई बस्ने र खाने ब्यबस्थापनि गरेन ।’ एन्फा कास्कीका महासचिव रमेश केसीले माघ १ गते नै आउनु भनेर बोलाएको तर अध्यक्षका कारण खाने, बस्ने ब्यबस्था र अभ्यास मैदान नमिलाईदिएको उनको भनाई छ ।

Facebook Comments