भारतमा भएको झडपमा सात जनाको मृत्यु

नयाँ दिल्ली, १३ फागुन (रासस-एएनआई) -भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा परी सात जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु छ जना सर्वसाधारण नागरिक रहेको बताएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राती सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो । उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मङ्गलबार पनि जारी छ । ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।

Facebook Comments