भारतबाट फर्किएका एक युवकको मृत्यु/एक आइसोलेसनमा भर्ना

सुर्खेत, १४ जेठ-भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।
मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।रासस

भारतबाट आएका आइसोलेसनमा भर्ना

कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आउनुभएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला भित्रिएपछि उहाँ बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्नुभएको थियो । “ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो । मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उहाँको भनाइ छ । जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ ।रासस

Facebook Comments