भारतबाट नेपालीलाई ल्याउने कार्यलाई प्राथमिकता दिन जनमोर्चाद्वारा सरकारसंग अनुरोध

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २३

राष्ट्रिय जनमोर्चाले विदेशस्थित नेपालीहरुलाई प्राथमिकताको आधारमा नेपाल ल्याउने पहल गर्ने भन्ने सरकारको अभिव्यक्तिलाई स्वागत गरेको छ ।

सबैभन्दा पहिले छिमेकी देश भारतबाट नेपालीहरुलाई नेपालमा ल्याउने कार्यलाई प्राथमिकता दिनका लागि जनमोर्चाले सरकारसंग अनुरोध गरेको छ ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरि भारतमा सामान्य र ससानो नोकरी गर्ने नेपालीहरुको अवस्था अत्यन्त चिन्ताजनक भएको उल्लेख गर्नुभएको छ ।

कोरोनाभाइरसको कारणले नोकरी छुटेपछि उनीहरुलाई खान र बस्न धेरै मुस्किल परेको छ, त्यसले गर्दा भोकमरीको अवस्था नै उत्पन्न भएको छ । उनीहरुलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिएका छौं, विज्ञप्तिमा लेखिएको छ ।

भारतस्थित नेपाली दुतावास तथा नेपालीहरुका विभिन्न संगठनहरुद्वारा सम्पर्क गरेर कुन ठाउँमा कुन नेपालीहरुको अवस्था खराब छ ? त्यो छुट्याएर प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल ल्याउन ठोस पहलकदमी गर्नुपर्नेमा राष्ट्रिय जनमोर्चाले जोड दिएको छ ।

समयमै भारतमा रहेका नेपालीको उद्धार नगरे भोक र रोगले गर्दा ठूलो संख्यामा नेपालीहरु विरामी हुने वा मृत्यु हुने सम्भावनाप्रति राष्ट्रि जनमोर्चाले सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ भनेको छ ।

Facebook Comments