बृहद लोक सांस्कृतिक महोत्सव फागुन १ देखि ३ गतेसम्म हुने

सन्देश श्रेष्ठ पोखरा, माघ २८

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले ‘बृहद लोक सांस्कृतिक महोत्सव’ आयोजना गर्ने भएको छ । समितिले मंगलबार पोखरामा पत्रकार भेटघाट आयोजना गरि फागुनको पहिलो हप्ता पोखरामा महोत्सव गर्ने जनाएको हो । महोत्सव फागुन १ गतेदेखि ३ गतेसम्म पोखराको पुरानो टुँडिखेलमा आयोजना गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेश भित्रका लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनु महोत्सवको मूख्य उद्धेश्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले बताए । त्यस्तै प्रदेशका विभिन्न जातजातिहरुको लोक संस्कृतिलाई जगेर्ना गर्ने, नव प्रतिभाको खोजी गर्ने, कल्याणकारी कोष अभिवृद्धि गर्नुपनि आफूहरुको उद्धेश्य रहेको उनको भनाई छ ।

महोत्सवको पहिलो दिन फागुन १ गते उद्घाटन कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । उद्घाटनका अवसरमा झाँकी तथा लोक संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरिनेछ भने पहिलो चरणका लोक दोहोरी गीतपनि प्रस्तुत हुने उनले बताए ।

महोत्सवको दोश्रो दिन लोक दोहोरी गीतका चर्चित कलाकारहरुको प्रस्तुतीसहित लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने उनले बताए । त्यस्तै तेश्रो तथा अन्तिम दिन फागुन ३ गते विशेष सांगीतिक कार्यक्रमसहित संगीत सम्मान कार्यक्रम गरिने उनले जानकारी दिए ।

महोत्सवको अवसरमा प्रतिष्ठानले अग्रज गायक प्रेमराज महत, विमलराज क्षेत्रीलाई श्रष्टा सम्मानबाट सम्मानित गर्ने जनाएको छ । यसैगरी राष्ट्रिय बाल प्रतिभा पुरस्कारबाट बाल गायिक कमला घिमिरे र बाल गायक प्रिन्स दाहाललाईपनि सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

१ लाख दर्शक भित्राउने लक्ष्य लिइएको महोत्सव सम्पन्न गर्न करीब २२ लाख खर्च लाग्ने प्रतिष्ठानले जनाएको छ । महोत्सवबाट २३ लाख ५० हजार संकलन गरेर डेढ लाख बचत गर्ने र सो रकम प्रतिष्ठानको गण्डकी प्रदेश कल्याणकारी कोषमा राखिने अध्यक्ष गुरुङले बताए । महोत्सवका लागि प्रदेश सरकार प्रमुख प्रायोजकको रुपमा रहेको छ भने उसले महोत्सवका लागि १० लाख रुपैयाँ दिने अध्यक्ष गुरुङले बताए ।

महोत्सव उद्घाटनका दिन निःशुल्क प्रवेश भएपनि दोश्रो र तेश्रो दिन ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments