बीपी विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताः प्रथम राष्ट्रपति डा.यादव

अनलाइनअन्नपूर्ण/काठमाडौं, ६ साउन

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बी.पी कोइराला भएको बताउनु भयो ।

बी.पी कोइरालाको ३८ औँ स्मृति दिवसका सन्दर्भमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले ‘बी.पी विमर्शका बहुआयाम’ विषयमा करिब दुई महिनासम्म गर्ने संवाद, बहस र बिचार विमर्शको कार्यक्रमको शुभारम्भ गर्दै यादवले उक्त कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि डा.यादवले बीपी कोइरालाको राजनैतिक, आर्थिक, सामाजिक विचार एउटा क्षेत्रमा मात्र थिएन, उहाँले भन्नुभयो :“ बी.पीको साहित्य सिर्जनाको क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको छ, बि.पी जस्तो बहुप्रतिभाशाली व्यक्तित्वका अनेक पक्षहरूलाई निरन्तर प्रचारप्रसार गर्नु अति आवश्यक रहेको छ, हरेकपल डट कमले यो अभियान सुरु गरेकोमा खुसी लागेको छ ।”

नेपालमा विलक्षण प्रतिभा भएको व्यक्ति बि.पी नै भएको बताउँदै कला, जीवन, संस्कृति, सभ्यता, इतिहास, दर्शन, मनोविज्ञानको अध्ययनमा उहाँको गहिरो दख्खल भएको उल्लेख भएको चर्चा गर्नुभयो । बि.पीले अभिव्यक्त गर्नु भएका विचार र सिर्जना गर्नुभएका साहित्यबाट नै उहाँको विलक्षणता प्रष्ट हुने बताउनुभयो । “ठूलो मान्छे होइन, असल मान्छे बन” भन्ने बीपीको चिन्तन गहिरो अध्यययन र इनलाइटेन्टमेन्टको उपलब्धि भएको समेत डा.यादवले बताउनु भयो ।

छोटो शासनकाल विविध दृष्टिले महत्त्वपूर्ण रहेको स्मरण गर्दै डा. यादवले बीपी विश्व परिवेशका साथसाथै माटोको स्पन्दन बुझ्ने राजनेता बी.पी भएको बताउनुभयो । साथै उहाँले आज पनि यो मुलुकका निम्ति बी.पीका विचार उत्तिकै समसामयिक रहेको र भविष्यका लागि पनि सान्दर्भिक रहने विश्वास व्यक्त गर्नुभयो ।

बी.पीको भौतिक शरीरको अवसान भएपछि जन्मिएको पुस्ता अहिले युवा अवस्थामा छ । त्यस पुस्तालाई उहाँको बारेमा जानकारी दिन जरुरी छ । उहाँले भन्नुभयो :“हरेक पुस्ताले अध्ययन गर्नुपर्ने व्यक्तित्व बि.पी हो, उहाँको चिन्तन, साहित्य सिर्जना, व्यवहार र जीवनबाट धेरै कुरा सिक्न सकिन्छ ।”

कार्यक्रममा हरेकपल डट कमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले बीपी उहाँकै बेला मात्र होइन, यो बेला पनि उत्तिकै सान्दर्भिक रहेको र भोलिका दिनमा पनि उहाँका विचार ताजगी लाग्ने बताउनु भयो । उहाँले बी.पीका बहुआयामलाई सबै समक्ष पुर्याउन हरेकपलले दुई महिना लामो अभियान सुरु गरको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रा.डा.कुलप्रसाद कोइरालाले बी.पीको राजनैतिक व्यक्तित्व, स्रष्टा व्यक्तित्व र समाजको अस्तित्वको चिन्तन गर्ने पक्षका कारण उनी अद्वितीय छन् भन्नुभयो ।

कार्यक्रममा मञ्जु काँचुली तिवारीले भन्नुभयो–‘बी.पीको राजनैतिक विचार, चिन्तन धारणा उहाँको साहित्यमा लुकेर बसेको छ, भित्रभित्र लेखन नसानसामा लुकेर बसेको छ तर पाठक र समालोचकहरूले त्यसलाई देखाउन सकेका छैनन् या भेउ पाउन सकेका छैनन् ।’

कार्यक्रममा समालोचक ज्ञानु पाण्डेले भन्नुभयो–‘बी.पीका उपन्यासहरू सबै चरित्रप्रधान छन् र चरित्रलाई उहाँले विचारको कुञ्ज बनाएर, प्रतीक बनाएर अगाडि सार्नु भएको छ । उहाँका हरेक पात्रहरू एकसे एक छन् ।’

कार्यक्रमका सभापति विपिन शर्माले बी.पीका विचारहरूलाई जीवन र व्यवहारमा लागु गर्न जरुरी रहेको बताउनुभयो । पहिलो आम निर्वाचनमा विजयी भएपछि बी.पीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेर १८ महिना मात्र सरकार चलाउनुभयो तर उहाँको शासनकाल अहिलेसम्मकै उत्कृष्ट रहेको शर्माले बताउनुभयो ।

कार्यक्रममा हरेकपल डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बी.पी कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बन्नुभएको बताउनु भयो ।

कार्यक्रममा डा.गोविन्दराज भट्टराई, कृष्ण धरावासी, वनमाली निराकार, ज्ञानुवाकर पौडेल, गोपाल भण्डारी, कलानिधि दाहाल, नारायण सापकोटा, गोकुल अधिकारी, डा.रामजी तिमलिल्सिना, डा.नारायण चालिसे, डा.रत्नमणि नेपाल, गीता रेग्मी, तीर्थराज निरौला, दामु मर्सिफूल, अच्युतराज कट्टेल, सूर्य लाकोजु, पौडेल विमुन्स, पुनम झा, तोयाराज घिमिरे लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण हरेकपल साहित्यका संयोजक मनोजादित्य न्यौपानेले गर्नुभएको थियो ।

Facebook Comments