बास्कोटालाई एम्बुसमा पारियो : अधिकारी

सन्देश श्रेष्ठ पोखरा, फागुन १०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–ईञ्चार्ज खगराज अधिकारीले निवर्तमान सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटालाई एम्बुसमा पारिएको बताएका छन् । आधिकारिक ट्रेड युनियन, नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको एकता अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका अधिकारीले मन्त्री बास्कोटालाई एम्बुसमा पारेर फसाइएको दाबी गरेका हुन् । कम्युनिष्टहरुलाई चौतर्फी घेराबन्दी गरिदैछ,‘उनले भने,‘ एम्बुस थाप्यो हाम्रा मन्त्रीलाई, भोलि मेरोपनि आउन सक्छ नक्कली एनिमेसन गरेर, त्यसबेला अचम्म नमानेहुन्छ ।’ आरोप लगाउँदैमा त्यो सत्य नहुने भन्दै उनले त्यो प्रमाणित हुनुपर्ने बताए ।

अधिकारीले बास्कोटाले गल्ती गरेको भए त्यो क्षम्य नहुने बताए । उहाँले एक रुपैयाँपनि भ्रष्टाचार गरेको हो भने पार्टी सदस्य नरहने मात्र होइन, जेल जानपनि उहाँ तयार हुनुहुन्छ,‘उनले भने,‘उहाँ जान नमाने हामी आफै पठाइन्छ ।’ तर कसैले एनिमेसन गरेर अडियो सम्बाद राखेकै भरमा भ्रष्टाचारी भनेर हल्ला फैलाउनु गलत हुने उनको भनाई थियो ।

नेता अधिकारीले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्र हित बिपरित भए त्यो बुँदा सच्याउनुपर्ने भएपनि बुझ्दै नबुझी हल्लाको पछि लागेर एमसीसीको विरोध गर्नुको भने औचित्य नहुने बताए ।

अधिकारीले नेकपा फुटाउने कोशिष भइरहेको बताए । यद्वपी कसले पार्टी फुटाउने प्रयास गरिरहेको छ भन्नेबारेमा भने उनले केहिपनि बोलेनन् । उनले ठूलो मूल्य चुकाएर पार्टी एकता भएको भन्दै अब यसलाई कुनैपनि हालतमा फुट्न नदिने दृढता व्यक्त गरे । साथै उनले सरकारपनि नढल्ने बताउँदै यहि सरकार ५ वर्षसम्म चल्ने बताए । उनले पार्टीमा गुट छिर्न नदिन आग्रह गरे । पार्टीलाई गुटमुक्त बनाऔं,‘उनले भने,‘हिजोको माओवादीले माओवादी मात्र खोजिरहने अनि हिजोको एमालेले एमालेमात्र खोजिरहने, गुट बनाइरहने हो भने पार्टी एकताको अर्थ र औचित्य हुँदैन ।’

आधिकारिक ट्रेड युनियन, नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका केन्द्रीय सह–संयोजक खगेन्द्र भण्डारीले कुलमानको लोकप्रियताको आडमा कर्मचारीमाथि डण्डा बर्साउने काम भइरहेको भन्दै त्यो तत्काल रोक्न आग्रह गरे । यदी यो हर्कत नरोकिने हो भने कुलमानको लोकप्रियताको आडमा बनाइएको घेरा तोड्ने उनको चेतावनी छ । कर्मचारी सरुवा र बढुवामा विभेद हुने गरेको भन्दै उनले यो सच्याउनुपर्नेमा जोड दिए ।

Facebook Comments