फेवाको जलाधार क्षेत्र संरक्षणमा २८ करोड १४ लाख लगानी हुँदै

पोखरा ९, पुष । पोखराको फेवाताल संरक्षण गर्न २८ करोड १४ लाख रुपैयाको लागतमा ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त लगानी फेवाताल संरक्षण कार्यक्रम अन्र्तगत पहिलो चरणमा मुख्य ४ ठाउँमा सिल्टेसन ड्याम निर्माणको काम सुरु भएको छ । सिल्टेसन बेतयानी खोलामा निर्माण गरिने ड्यामको बुधबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल संरक्षणमा प्रदेश सरकार कटिवद्ध भएको बताए । संघीय सरकारले फेवातालको समयमै सिमाङकन गर्न सके फेवाताल संरक्षण गर्न फेवातालको सिमामा पिल्लर राख्न समेत आफूहरुले स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने योजना रहेको उनले जनाए । प्रधानमन्त्री केपी शर्मा ओली, संघिय भूमि सुधार मन्त्रालयमा समेत फेवातालको सिमाङकन गर्ने विषयमा पटक पटक भन्दै र पत्र दिएकाले अबको २÷३ महिनामा केही काम हुने आशामा आफूहरु रहेको मुख्यमन्त्री गुरुङले जनाए ।

समयमै फेवातालको सिमाङकन गर्न नसक्दा फेवातालको विकासमा अवरोध सिर्जना भएको उनले जनाए । जथभावी रुपमा खनिएका कच्ची सडकले नेपालको हावापानीलाई नै प्रभाव पार्ने गरेको मुख्यमन्त्री गुरुङले टिप्पर्णी गरे । ताल विकास प्राधिकरण गठन भएको खण्डमा पोखरासहित गण्डकी प्रदेशका तालहरुको समेत संरक्षण र प्रवद्र्धन हुने उनले जनाए ।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ स्थित बेतयनी खोला, लौरुक खोला, अधेरी खोला र हर्पन खोला घाँटी छिना गरी ४ वटा आयोजना मार्फत चेकड्याम र सिल्टपोखरी निर्माण गरिने भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । गत भदौ महिनाको अन्तिममा भएको सम्झौता अनुसार २ वटा कम्पनीले १५ महिना भित्र २८ करोड १६ लाख १० हजार ९ सय ९२ रुपैंयाँमा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको उनले जनाए । ड्याम निर्माणपछि नदीजन्य पदार्थ तालमा जानबाट नियन्त्रण हुने जिसीले बताए । उनले ड्याममा थुप्रिएको ढुंगा, गिटी, बालुवा प्रत्येक हप्ता निकाल्ने व्यवस्था महानगरले गर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले ताल संरक्षणका लागि बनाइने ड्याम निर्माणमा सहयोग गर्न स्थानीयलाई आग्र्रह गर्दै स्थानीयको सहयोग बिना तालको संरक्षण गर्न नसकिने बताइन् ।

बेतयनी खोलामा स्याङ्जाको श्री गीता÷जयनेपाल इश्वर जेभी, लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरी ३ वटा आयोजना दाङको खड्का कृष्ण÷पि.के जेभी निर्माण गर्नेगरी सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए । बेतयनी खोलामा ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँको लागतमा चेकड्याम र सिल्टपोखरी निर्माण गरिने छ । उक्त पोखरीको चेकड्याम लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुने भएको छ ।

लौरुक खोला पोखरा २४ मा चेकड्याम र सिल्ट पोखरी निर्माण गर्न ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ काम सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेले बताए । उक्त चेकड्यामको लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटर हुने महानगरले जनाएको छ ।

अधेरी खोला पोखरा २३ र २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैंयामा ठेक्का सम्झौता भएको छ भने उक्त चेकड्याम लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटर हुनेछ ।

हर्पन खोला घाँटी छिना पोखरा २३ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपंैया ठेक्का सम्झौता भएको महानगरका इन्जिनियर नवीन गौतमले बताए । उनका अनुसार उक्त चेकड्यामको लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटर हुनेछ । कार्यक्रममा निर्माण कम्पनीले समयसीमा भित्र नै काम सक्ने प्रतिबद्धता गरेका छन् ।

Facebook Comments