फाल्गुनन्द जयन्ती : राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास :राष्ट्रपति भण्डारी

काठमाडौँ, २५ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुहुने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ । फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएकामा उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गर्नुभएको छ ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ । उहाँले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गर्नुभएको छ ।रासस

राष्ट्रिय विभूति फाल्गुनन्दको जयन्तीमा सोमबार स्थानीय बिदा

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा यही कात्तिक २५ गते झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको आज सूचना जारी गर्नुभएको छ ।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उहाँले देहत्याग गर्नुभएको थियो । किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनुभएको सन्देशका कारण उहाँलाई महान् समाज सुधारक मानिएको छ । उहाँको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको हो ।रासस

Facebook Comments