प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आज राति वा भोलिसम्म डिस्चार्ज गरिने

काठमाडौं कार्तिक १३।नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण पूरा भएपछिमात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएपछि आज राति वा भोलि बिहानसम्म डिस्चार्ज गरिने जनाएको हो ।

स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने सम्भवाना बढेको स्रोतले बतायो । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेका छन् ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाविक रुपमा बढेपछि मिर्गौला डायलासिस गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् । आज राति नै मिर्गौला डायलासिस गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री ओलीको सबै रिपोर्टहरु उनकी नीजि चिकित्सक डा.दिव्या सिंह शाह र अर्का चिकित्सक डा.दिलिप शर्मा बाहेकलाई हेर्न दिइएको छैन।

प्रधानमन्त्री ओलीलाई केहीबेर अघि आइसियूबाट किड्नी ट्रान्सप्लान्ट युनिटमा सारिएको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान साँढे ९ बजे अस्पताल पुगेका थिए । परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार नियमित परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।

यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएको थियो । सिंगापुरमा उपचार गराए आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।

मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए । त्यहाँ उनको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Facebook Comments