प्रतिकुल मौसमका कारण राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन संघको सभाहलमा

दीननाथ बराल पोखरा, १८ पुस । आज बिहान देखि पानी परेका कारणले राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को औपचारिक उद्घाटन पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने भएको छ । प्रतिकुल मौसमका कारण उक्त मेलाको औपचारिक उद्घाटन भने संघको सभाहलमा हुने तयारी गरिएको संघका महासचिव एवं मेला प्रचार संयोजक अर्जुन पोख्रेलले बताए ।

उनले भने “ मेलाको उद्घाटनको यस बर्ष पनि हामीले भव्य तयारी गरेका थियौं, विभिन्न संघ संस्थाहरुलाई संघको परिसरमा ¥यालीमा सहभागि हुन निमन्त्रण गरेसंगै उहाँहरु संघको परिसरमा आएकोले संघकै सभाहलमा समुद्घाटन गरिने भएको छ । ” शुक्रबार दिउसो १ः०० बजे पछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले एक समारोहका बिच उक्त मेलाको उद्घाटन गरिने कार्यक्रम तय गरिएको प्रचार संयोजक पोख्रेलले जनाए ।

उद्घाटन सत्र करिब दुई घण्टा जसो चलेसंगै बाँकी रहेको समय पछि पानी बिदो भएमा महोत्सव स्थल पोखरा नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा विभिन्न सांस्कृतिक कार्यक्रम संचालन हुने भएको उनले जनाए । शनिबार (भोलि) देखि नियमति रुपमा महोत्सव संचालन हुने भएको उनले जनाए ।

यही पुष २८ गतेसम्म चल्ने उक्त मेलामा २०७६ मा २ सय ७० वटा व्यापारिक स्टलहरु रहने भएकाछन्। महोत्सवमा उद्योगका २०, पेभेलियन, हस्तकलाका २३, गलैँचा, बैंक तथा वित्तिय क्षेत्र, फ्लोरिकल्चरसहितका गरी २ सय ७० वटा स्टल रहने भएको संघले जनाएको छ ।

त्यसै गरी अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शन गरिने भएको मेला सहसंयोजक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उदेश्य बोकेको मेला मार्फत नेपाल भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्ने महासचिव पोख्रेलले बताए ।

मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए । उनका अनुसार विद्यार्थीहरुको लागि प्रवेश टिकट ४० रुपैयाँ कायम गरिएको छ । मेलामा वुटवलका इन्जिनियर शिशिर जिसीले आविष्कार गरेका ६० प्रतिशत इन्धन र ४० प्रतिशत पानीको प्रयोगबाट मोटर र मोटरसाइकल चल्ने प्रविधिलाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

Facebook Comments