प्रतिकुल मौसमका कारण पोखराका सवै हवाई उडान प्रभावित आपतकालिन लामाचौरमा अवतरण

पोखरा २, पुष । प्रतिकुल मौसमका कारण पोखराबाट हुने बुधबारका सम्पूर्ण हवाई उडान रद्ध भएकाछन्। आज (बुधबार) आकासमा हुस्सु लागेर विहानै देखि आकास खुल्न नसके पछि प्रतिकुल मौसम हुदा यस सिजनमा पोखराबाट हुने हवाई उडान पहिलो पटक पूर्ण रुपमा प्रभावित भएको नागरिक उडड्यन कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाँईले बताए ।


बुधबार पोखरामा करिब २५ वटा हवाई उडान रद्ध हुदा करिब ५० लाख मुल्य बराबरको आर्थिक कारोवार प्रभावित भएको छ । त्यसै गरी बुधबार प्रतिकुल मौसमले गर्दा पोखरामा सहासिक खेल प्याराग्लाईडिङ तथा अल्ट्रालाईट समेत पूर्ण रुपमा प्रभावित भएकाछन्।

प्रतिकुल मौसमका कारण बुधबार करिब एक सय ५० वटा प्याराग्लाईडिङ उडान रद्ध भएको हवाई खेलकुद संस्था नाका अध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार हाल अफ्सिजनमा पनि हाल दैनिक जसो एक सय ५० वटा प्याराग्लाईडिङको हवाई उडान हुने गरेको छ । पोखरामा प्रतिकुल मौसमका कारण हवाई उडान तथा प्याराग्लाईडिङ एवं अल्ट्रालाइट उडान रद्ध हुदा करिब ७० लाख मुल्य बराबरको कारोवार ठप्प भएको व्यवसायीहरुले बताएकाछन्।

पोखराबाट बुधबार १८ वटा हेलिकोप्टर उडान भएको प्रमुख गुरागाँइले बताए । उनका अनुसार एउटा हेलिकोप्टर उडान पोखरा काठमाण्डौंका लागि भएको छ भने १७ वटा अन्नपूर्ण वेस क्याम्पको लागि हवाई उडान भएको हो । अन्नपूर्ण वेस क्याम्पबाट पोखरा विमानस्थल तर्फ फर्किने क्रममा विहान करिब १०ः०८ बजे हुस्सुले अध्यारो भएकोले केही समय पोखरा १६ लामाचौरको गोष्तेघाँट खेल मैदानमा आपतकालिन अवतरण गरेको थियो । एयर डाइनोष्टिक र सिम्रिकको होलिकोप्टरले आपतकालिन अवतरण गरेको प्रमुख गराँगाईले बताए ।

बुधबार पोखरा देखि काठमाण्डौं, पोखरा भैरहवा, पोखरा जोमसोम, पोखरा भरतपुरमा हुने नियमित हवाई उडान प्रतिकुल मौसमका कारण रद्ध भएको नागरिक उडड्यन कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाँईले बताए । उनका अनुसार बुधबार बुद्ध एयरको पोखरा काठमाण्डौं तर्फ ८, यति एयरलायन्सको पोखरा काठमाण्डौं ७, सिम्रिक एयरको पोखरा काठमाण्डौं ३, तारा एयरको पोखरा जोमसोम २, बुद्ध र यतिको भैरहवा तथा भरतपुर एक ÷एक र समिट एयरको पोखरा जोमसोम एउटा हवाई उडान रद्ध भएको हो ।

यति एयरलायन्सका अमृत सिंहले प्रतिकुल मौसमका कारण अग्रिम टिकट बुकिङ गरेका केही यात्रुको रकम फिर्ता गरिएको त केहीको भोली (विहिबार) को लागि हवाई उडान गराइने गरी सारिएको बताए । बुधबार प्रतिकुल मौसमका कारण सवै हवाई उडान रद्ध हुदा धेरै असर परेको बुद्ध एयरलायन्स पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए । यसरी हवाई उडान रद्ध हुदा केही पर्यटक सडक मार्ग हुदै आफ्नो गन्तव्यमा लागेका थिए । यस बर्षको यस सिजनकै पहिलो पटक पव्रतिकुल मौसमका कारण पोखराका सम्पूर्ण हवाई फ्लाईट रद्ध भएको हो ।

बुधबार पोखराको तापक्रम भने मंगलबारको भन्दा बढी भएको जल तथा मौसम विज्ञान विभाग पोखरा कार्यालयले जनाएको छ । कार्यालयका नायव मौसम विज्ञ सुरेस खनालका अनुसार बुधबार बिहान न्यूनतम ८.५ डिग्रि सेल्सीएसको तापक्रम रहेको थियो । दिउँदो भने पोखराको तापक्रम ११ डिग्रि सेल्सीएसको तापक्रम रहेको उनले जनाए ।

पोखरामा चिसोको महशुस गरिएसंगै पोखरामा चहल पहल कम भएको थियो भने केही चोकहरुमा आगो ताप्ने गरेको देखिन्थ्यो । स्मरण रहोस केही दिन अघि पोखरामा अत्याधिक बर्षा हुदा करिब १० वटा हवाई उडान रद्ध भएको थियो ।

Facebook Comments