प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

काठमाडौँ, १० कात्तिक-नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण्ण राख्न तरुण दल र विद्यार्थीको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, “प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक हुन् । यसमा षडयन्त्र हुन लागेको छ । त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण हुन्छ । अब तपाईंहरुको काँधमा बढी जिम्मेवारी आएको छ ।” लोकतन्त्रको रक्षा र सुदृढीकरणमा तरुण दल ठूलो उत्साहका साथ लागेको भन्दै उहाँले तरुण दलको नेतृत्वको प्रशंसासमेत गर्नुभयो । साथै उहाँले भोलिका दिनमा आउने थप चुनौतीको सामना गर्न तरुण दललाई अझ सशक्त र जुझारु सङ्गठन बनाउन सुझाव दिनुभयो ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन काङ्ग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि काङ्ग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो । तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको हो ।रासस

Facebook Comments