पोखरा विश्वविद्यालयमा तालाबन्दी लफडा, विद्यार्थी तालाबन्दी नखोल्ने अडानमा, प्रशासन मौन

सन्देश श्रेष्ठ पोखरा, मंसीर ५ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन । नेपाल विद्यार्थी संघ र प्रजातान्त्रिक प्राध्यापक संघले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला २ महिना बित्दापनि नखुलेको हो । ताला नखुलेपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयले गर्ने काम २ महिनादेखि ठप्प रहेको छ । केन्द्रीय कार्यालयमा उपकुलपति (भिसी) र रजिष्टारको कार्यालय, ब्यबस्थापन (म्यानेजमेन्ट) संकाय, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकाय, स्वास्थ्य विज्ञान (हेल्थ साइन्सेस) संकाय र मानविकी (ह्युमानिटी एण्ड सोसल साइन्सेस) संकायको डिनको कार्यालय तथा पाठ्यक्रम निर्देशक र अन्र्तराष्ट्रिय सम्बन्धको निर्देशक गरी कुल ८ वटा कार्यालयहरु रहेका छन् ।

नेविसंघ र प्रजातान्त्रिक प्राध्यापक संघले कनिष्ठ व्यक्तिलाई कायममुकायम उपकुलपति (भिसी) नियुक्त गरेको भन्दै गत असोज ८ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । सरकारले विश्वविद्यालयमा रहेका ४ डिन मध्ये साइन्स एण्ड टेक्नोलोजी संकायका डिन बुद्धिराज जोशीलाई गत असोज ५ गते कायममुकायम उपकुलपतिमा नियुक्त गरेको थियो । लगत्तै नेविसंघ र प्रजातान्त्रिक प्राध्यापक संघले असन्तुष्टी जनाउँदै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । यसअघीका उपकुलपति चिरञ्जिवी शर्माले निवृत्त हुनुअघी तत्कालिन डिन ई.बुद्धिराज जोशीलाई नै निमित्त उपकुलपति तोकेर बिदामा बसेका थिए । शर्माको पदावधी सकिने दिन गत असोज ५ गते सरकारले जोशीलाई कायममुकायम उपकुलपति नियुक्त गरेको थियो ।

पोखरा विश्वविद्यालय । तस्बिर सन्देश

केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपनि कामु भिसी जोशीले नियमित काम भने गरिरहेका छन् । उनले विश्वविद्यालयको सभाहलमा आफ्नो कार्यालय नै राखेर काम गरिरहेका हुन् । जोशी आएपछि यसअघी रोकिएको परिक्षाको परिक्षाफल प्रकाशित भइसकेको छ भने अन्य परिक्षाहरुपनि नियमित रुपमा भइरहेका छन् । यसअघी शर्मा उपकुलपति हुँदा डि–प्लस ल्याउने विद्यार्थीलाई अन्य परिक्षामा सहभागि नगराउने विश्विद्यालयको निर्णयप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका थिए । तर अदालतले अन्तिम फैसला नगरेसम्म विद्यार्थीलाई नियमित काममा अवरोध नगर्नु भन्ने अन्तरिम आदेश दिएसँगै कामु जोशीले डि–प्लस ल्याउने विद्यार्थीलाई अन्य परिक्षाामा सहभागि हुन दिने निर्णय गराएपछि विद्यार्थीको आन्दोलन रोकिनुका साथै परिक्षाहरु नियमित रुपमा भइरहेको हो ।

विश्वविद्यालयका कामहरु नरोकिएपनि केन्द्रीय कार्यालयबाट हुने प्रशासनिक काम भने ठप्प रहेको कामु उपकुलपति जोशीले बताए । विद्यार्थीले बिना कारण तालाबन्दी गर्दा प्रशासनिक काम गर्न नसकिएको उनको भनाई छ । प्रशासनिक काममा अवरोध भएपनि तालाबन्दी खोल्ने प्रयास कसैलेपनि गरेका छैनन् । यसमा नत कामु कुलपति नत विद्यार्थी नै तालाबन्दी खोल्ने प्रयासमा जुटेका छन् । बरु दुबै एकले अर्कालाई दोष देखाउँदै उम्किने गरेका छन् । विद्यार्थीसँग आफू मुडभेडमा जाने पक्षमा नरहेको बताउँदै कामु उपकुलपति जोशीले भने,‘उहाँहरुको आन्दोलन हामीहरुसँग होइन, सरकारसँग हो, त्यसैले उहाँहरु हामी बिरुद्ध वा हामी उहाँहरु बिरुद्ध मुठभेडमा जानुहुन्न ।’ विद्यार्थीले गरेको तालाबन्दीप्रति असन्तुष्टी जनाउँदै उनले थपे,‘उहाँहरुलाई सरकारको निर्णय मन नपरेको हो भने विश्वविद्यालयमा होइन सरकार लक्षित बिरोधका कार्यक्रम हुनुप¥यो, होइन भने कानुनी उपचार खोज्नु प¥यो तर विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेगरी तालाबन्दी गरिरहनु भएन ।’ उनले आफू वार्ता र सहमतिबाटै तालाबन्दी खोल्ने पक्षमा रहेकाले जबरजस्ती तालाबन्दी खोल्ने प्रयास नगरेको बताए ।

आन्दोलित नेविसंघ र प्रजातान्त्रिक प्राध्यापक संघले भने तालाबन्दी नखोल्ने अडान राखेका छन् । उनीहरुले कनिष्ठ कामु उपकुलपति हटाएर बरिष्ठताका आधारमा कुलपति नियुक्ती गर्नुपर्ने अडान राखेका छन् । नेविसंघका तर्फबाट पोखरा विश्विद्यालयका नेविसंघ प्रतिनिधि गोपीकृष्ण तिवारीले भने,‘बरिष्ठताका आधारमा उपकुलपति नियुक्त नभएसम्म तालाबन्दी खोल्दैनौं ।’

यसैबीच, पोखरा विश्वविद्यालय ब्यबस्थापन संकायका सह प्राध्यापक बलराम भट्टराईको पहलमा ताला फाड्ने प्रयास असफल भएको छ । अध्ययन बिदापछि विश्वविद्यालय फर्केका उनले हाजिर गर्न नपाएको भन्दै ताला फोड्ने प्रयास गरेका थिए । तर विश्वविद्यालय प्रशासन र प्रहरी प्रशासनको असहयोग तथा नेविसंघको अवरोधका कारण ताला फोड्ने उनको प्रयास असफल भएको हो । नेविसंघ र प्रजातान्त्रिक प्राध्यापक संघ गैरजिम्मेवार बनेको तथा विश्वविद्यालय प्रशासन पनि मौन बस्दा विश्वविद्यालयको छवि माथि नै प्रश्न उठ्न लागेपछि आफू ताला फोड्न गएको तर आफूलाई एक्ल्याईंदा ताला फोड्न नसकेको उनले प्रतिक्रिया दिए ।

Facebook Comments