“पोखरा/गण्डकी प्रदेशमा रगतको अभाव छैन, हुन पनि दिन्नौं, यो नै हाम्रो प्लस पोईन्ट हो” :ज्ञवाली(video)

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ८

नेपाल रेडक्रस सोसाईटी, क्षेत्रीय रक्त संचार सेवा, गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले कोरोनाको कहर भईरहेको बेलामा पनि पोखरा र गण्डकी प्रदेशका जिल्लाहरुमा रगतको अभाव नभएको र हुन पनि नदिएको बताउनु भएको छ ।

हामीसंग त अहिले सुविधा सम्पन्न रक्त संकलन एम्वुलेन्स बस पनि छ, ज्ञवालीले भन्नुभयो ः“रक्त संकलन एम्वुलेन्स बस संचालन गरेसंगै घुम्ति रक्तदान कार्यक्रमहरु झन् वढि प्रभावकारी मानिएका छन्, सुरक्षित तवरले रक्त संकलन भईरहेको छ र पोखरामा रगतको अभाव छैन ।”

नियमित रुपमा हामीले वर्षभरीको क्यालेण्डर बनाएर रक्तदानका कार्यक्रम आयोजना गर्दै आएका थियौं, तर अहिलेको समयमा अलि फरक र सावधानि अपनाएर काम गर्नुपर्ने भएको छ, ज्ञवालीले भन्नुभयो ः“गएको चैत्र ११ गतेदेखि देश लकडाउनको अवस्थामा रहेपछि त्यसलाई मध्यनजर गरेर रक्तदाताको भिड जम्मा नहुने गरि घुम्ति रक्तदानका कार्यक्रमबाट पोखरामा रगतको अभाव हुन दिएका छैनांैं ।”

रक्त संकलन एम्वुलेन्स बसमा भित्रै बसेर एकै पटकमा तीन जनाले रक्तदान गर्न सक्छन्, जस्मा आरामदायी तीन वटा बेड रहेका छन् । गाउँ वा शहरका कुनैपनि कुनामा गएर तुरुन्तै रक्त संकलन गर्नको लागि निकै सजिलो भएको छ । एसि जडित बस आरामदायि भएको र यो बेला बसलाई निर्मलीकरण गरेर संचालन गरिरहेको उहाँले बताउनु भयो ।

आरजू-क्षेत्रीय रक्त संचार सेवा, गण्डकीका प्रमुख अर्जुन ज्ञवाली

यो नै रक्त संचार सेवा गण्डकीको प्लस पोईन्ट हो

पोखरामा दैनिक जसो हामीले १०० यूनिट र त्यो भन्दा वढि रगत घुम्ति रक्तदानबाट संकलन गरिरहेका छौं, कोरोनाको महामारीको बेलामा रगतको अभाव नहोस् भनेर हामी खटिईरहेका छौं र अभाव हुन पनि दिएका छौैनौं, ज्ञवालिीले भन्नुभयो :“रगतको अभाव हुने अवस्था आउन नदिने तर्फ हामी मात्रै होईन, संचारमाध्यम, संस्थाहरु र समुदायका व्यक्ति सचेत रहेको अवस्था छ । कतिले हामीले रक्तदान गर्ने मिति कहिले पाउँछौं ? भनेर सोधिरहेको अवस्था छ । धेरै संस्थाहरुले रक्तदानको लागि खबर गरिरहेका छन्, सबैलाई पालोमा राखेर परेको बेलामा गर्ने गरी व्याकअपमा राखेका छौं ।”

बेला बेलामा विभिन्न समूहको रक्त समूहको अभाव हुने गरेको पाईन्छ नि, त्यस्तो अवभाव छ कि छैन ? भन्दा ज्ञवालीले भन्नुभयो :“यो एकदमै महत्वपूर्ण कुरा हो, हामीसंग प्रशस्त रगत हुँदाहँुदै पनि कहिले कुनै समूहको रक्त अभाव हुने गर्छ र कहिले कुनै । कहिले ओ पोजेटिभ रगतको अभाव हुन्छ, कहिले ए पोजेटिभ, कहिले एबी को वा अरुहरु समूहको तर अहिले हामीसंग त्यस्तो अभाव छैन, हामीले आपूर्तिको कुशल व्यवस्थापन गरिरहेका छौं, यो नै रक्त संचार सेवा गण्डकीको प्लस पोईन्ट हो ।”

कहिलेकाँहि फ्रेस रगत चाहिने अवस्था आउन सक्छ, त्यो माग भएको खण्डमा हामीले आरदायू लगायतका संस्थाहरुसंगको समन्वयमा तुरुन्तै रगत आपूर्ति गर्ने व्यवस्था मिलाउने गरेका छौं जो जसका सदस्यहरु चाहिएको बेलामा आउने गरी बसिरहेका हुन्छन् ।

रगत दिदा केहि पनि असर हुँदैन

“म के भन्छु भने रगत दिदा केहि पनि असर हुँदैन । तपाँई १७ वर्ष पूरा हुनु भएको छ र ६० वर्ष नाघेको छैन र स्वास्थ्य अवस्था ठीक छ, औषधीको सेवन गर्नुभएको छैन भने रगत दिन मिल्छ । वर्षमा चार पटक रक्तदान गर्न सकिन्छ । प्रतिकेजि बडी वेट भएका स्वस्थ मानिसमा ७६ एमएल रगत हुन्छ । जतिसुकै कठिन काम गर्नको लागि ५० एमएल रगत भए पुग्छ । जगेडामा २६ एमएल हुन्छ, त्यो २६ एमएल बाट प्रतिकेजि बडि वेटमा हामीले जम्मा ८ एमएल दिन्छौं । जो ४५ केजिको हुनुहुन्छ भने ३५० एमएल रगत सजिलै दिन सक्नु हुन्छ । यसरी झिकेको रगत कसैको ज्यान जोगाउन काम लाग्ने भएकोले यो जस्तो दान, महादान कुनै हुँदैन, ज्ञवालीले बताउनुु भयो ।

“रगतको सट्टामा रगत बाहेक अर्को कुनैपनि पदार्थ दिन मिल्ने विकल्प हामीसंग छैन, त्यसैले आफु पनि रक्तदान गरौं अरुलाई पनि रक्तदानको लागि सुझाऔं । हामीलाई थाहा छ कोरोनाको कहरको बेलामा हामीले काम गरिरहेका छौं । जोखिममा परेका जो कोहिको जीवनलाई बचाउनु त पर्यो । त्यसका लागि सामाजिक दूरीलाई कायम गरेर, सुरक्षाको बन्दोबस्त गरेर रक्त संकलनको कार्यमा जुटिरहेको अवस्था छ ।” पोखरामा कोरोनाको कहरपछि सरदर दिनमा ४० पोका रगतको खपत भईरहेको छ र निरन्तर रगत चाहिरहने विशेष अवस्थाका विरामीहरुले रगत पाईरहेको ज्ञवालीले बताउनु भयो ।

पोखरा वा प्रदेशमै रगतको अभाव हुन दिन्नौं

“कहिलेकाँहि काठमाडौंमा वा अन्य क्षेत्रबाट आउने समाचारले केहि प्रभाव पारेको जस्तो लाग्छ तर पोखरामा कुनैपनि समयमा रगतको अभाव हुन दिएका छैनौं र दिन्नौं पनि किनभने यो त हामीले प्रमाणित गरि नै सकेका छौं । जहिले पनि कास्की रेडक्रस सामाजिक कामको लागि पहिलो स्थान ओगटिरहने संस्थाको रुपमा दर्ज भएको छ, यो हामी सबैको पूँजी हो, ज्ञवालीले भन्नुभयो । यसमा हाम्रो व्यवस्थापन, संघ संस्थाहरुको सहयोग र रक्तदान गर्नुपर्छ भन्ने पोखरामा आएको जागरणले गर्दा नै हो, त्यसैले हामीले पोखरा वा प्रदेशमै रगतको अभाव हुन दिन्नौं ।”

वुधवार मात्रै रक्तदान सम्पन्न गरेका पोखरा नदीपुरस्थित नदीपुर यूनाईटेड क्लवका अध्यक्ष नीवन आले मगरले बडो हौसिएर क्लवले रक्तदान गर्न पाएकोमा खुसि व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाईटीलेले वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु मार्फत रक्तदान आयोजनाको लागि गरेको आव्हानलाई खुसिका साथ स्वीकार गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको अनुभव सुनाउनु भयो । उहाँले आगामी दिनका लागि रक्तदान लगायतका सामाजिक काम गर्न उत्साहि बनाएको बताउनु भयो ।

रक्तदान जीवन दान हो, रक्तदानले कोहि पनि जोखिममा परेको मानिसलाई बचाउन सकिन्छ, हामी जस्ता युवा झन जागरुक हुनुपर्ने र बचाउन सकिने भएकोले लागिरहन्छौं, आलेले भन्नुभयो । सोहि अवसरमा आलेले कोरोनाको कहर परिरहेको बेलामा एक महिनासम्म विपन्न परिवारका सदस्यहरुको लागि क्लवले पोखरा महानगरपालिका, वडा नं ३ संग सन्वय गरेर विभिन्न स्थानमा खाना खुवाउने काम गरेको सामाजिक कामको अनुभव साटफेर गर्नुभयो ।

Facebook Comments