पोखरामा बम विष्फोटपछि भागदौड मच्चिदा ५ घाइते

सन्देश श्रेष्ठ पोखरा, कात्तिक ११ । चुनावको पूर्व सन्ध्यामा पोखरामा बम विष्फोट भएको छ । चुनाव आउन ३ दिनअघी पोखराको नयाबजारमा बम विष्फोट भएको हो । प्रतिनिधि सभाको एकमात्र निर्वाचन हुने कास्की २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावी सभा आयोजना गरेको नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्र भन्दा करीब २ सय मिटर पश्चिममा दिउँसो ११्रः५५ बजे बम विष्फोट भएको थियो । नेकपा नेता सुवास नेम्वाङले सभालाई सम्बोधन गरिरहेका बेला ठूला आवाजमा बम विष्फोट थियो ।

ठूलो आवाजमा विष्फोट भएपनि पड्किएको वस्तु सकेट बम भएको अनुमान गरिएको छ । तर प्रहरीले भने यसलाई शंकास्पद बस्तु मात्रै भनेको छ । उसले घट्नास्थलमा पड्केको वस्तुको अवशेषसमेत नभेटिएको दाबी गरेको छ । आवाज अनुसार यो शक्तिशाली वस्तु नभएको पुष्टी गर्छ,‘कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले भने,‘यसको थप अनुसन्धान भइरहेको छ ।’ विष्फोटक पदार्थ माटोमुनी राखेकाले आवाज ठूलो आएको हुनसक्ने एसपी कार्कीले बताए ।

विष्फोटबाट कुनैपनि क्षेति नपुगेको कास्की प्रहरीले बताएको छ । तर विष्फोटका कारण डराएर भागदौड गर्दा ५ जना घाइते भएको प्रहरीको भनाई छ । विष्फोट भएको पूर्वपट्टी पर्खाल रहेको र त्यसले छेकेकाले क्षेति नभएको बताइएको छ ।

विष्फोटका क्रममा भागदौड गर्दा पोखरा–१५ गलेश्वर बस्ने ५५ वर्षिया धनमाया सुनार, ५४ वर्षिया कृष्ण गुरुङ अधिकारी, ४५ वर्षिया रमिला सार्की, ५५ वर्षिया जानकी पोखरेल र ५७ वर्षिया पूर्णमाया विक घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते मध्ये धनमायाको टाउकोमा चोट लागेको छ । विष्फोटको आवाज आएपछि भागदौड गर्ने क्रममा लड्न पुग्दा ढुंगामा ठोक्किएर उनको टाउकोमा चोट लागेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दीपक रेग्मीले बताए । टाउको बाहिरी भागमा मात्रै चोट लागेकाले अवस्था सामान्य रहेको उनले बताए ।

त्यस्तै कृष्ण गुरुङ अधिकारी र रमिला सार्कीको ढाडमा दुखेको मात्र, जानकी र पूर्णमायाको टाउकोमा सामान्य चोट लागेको एसपी रेग्मीले जानकारी दिए । उनका अनुसार घाइते सबै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरी घर फर्किसकेका छन् ।

विष्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धान भइरहेकाले थप विवरण भन्न नमिल्ने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार केसीले बताए ।

Facebook Comments