पोखरामा आज अन्तरराष्ट्रिय क्रस कन्ट्री दौड पर्यटकीय केन्द्र लेकसाईड वाराही चोकबाट(video)

आरजू/पोखरा, असोज २९ -पोखरामा आज अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्प्लोरेशन एशोसिएसन को संयुक्त आयोजनामा आयोजना गरिएको हो ।

दाैडमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुभएको छ । नेपालका तीन विभागीय टोली तथा काठमाडौँ, सुदूरपश्चिम र पोखरासहित २५ टोलीको सहभागिता हुँदैछ भने चीनबाट दुई टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

व्यक्तिगत प्रतिष्पर्धाको लागि चीनका ३० धावकको सहभागिता हुँदैछ । टिम इभेन्टको लागि प्रत्येक टोलीमा तीन खेलाडी रहनेछन् । एक जना पुरुष र दुई महिला तथा दुई पुरुष र एक महिला खेलाडी अनिवार्य हुनुपर्ने छ ।

प्रतियोगितामा एकसय पाँच खेलाडीको सहभागिता रहने पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बताउनु भयो । यसका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिका संरक्षकको रुपमा रहेका छन् भने पोखराका अन्य संघ संस्थाले सहकार्य गरेको पोखरेलले बताउनु भयो ।

by :aarju

क्रस कन्ट्री दौड पोखरा बैदामको बाराही चोकबाट बिहान ८.३० मा शुरू हुने भएको छ । कुल दौडको दुरी ४२.२ किलोमिटर हुनेछ । जस अन्तर्गत दौड २२ किलोमिटर, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुने टेक्निकल संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको बाराहीघाटबाट शुरु हुने दौड गौरीघाट, सहीदचोक, राष्ट्रवैंक चोक, ड्यामसाइड, पार्दी पुल, डेभिड्स फल्स पुल, तिवेतियन क्याम्प हुँदै फुस्रे खोलामा पुगेर साइकल परिवर्तन हुनेछ । त्यहाँबाट पुनः शुरु हुने दौड कमेरे, राम्दीहुँदै मट्टीखानमा पुगेर केहिबेर आराम र ब्रेक फास्ट गर्ने तालिका बनाइएको छ । ब्रेकफास्ट लिएपछि पुनः शुरु हुने साइकल दौड रामकोट हुँदै कुभिण्डे भञ्ज्याङमा पुगेर साइकल ड्रप हुनेछ । त्यसपछि पुनः शुरु हुने दौड उल्लेरी, खरिखानी, भयँरथान, पैयुँ चौतारी, भुम्दी, ओख्लेडाँडा, तुम्बे चौतारी, च्याल्खुडाँडा, मोतिराजचोक, स्वाँरा, लुकुनस्वाँरा, गौरी प्राविहुँदै शान्ति स्तुपा र त्यसपछि लिचिबोटमा पुगेर डुंगा दौड शुरु हुनेछ । फेवातालको स्विमिङ पुल घाटमा आएर दौड सकिने छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउनाका साथै चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् । कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमणको क्रममा यहाँको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको सन्दर्भमा दौडले अझ ठूलो महत्व राख्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पु¥याउने र पर्यटकको बसाइँ लम्ब्याउन सहयोगी हुनेछ । प्रतियोगिता सम्पन्न गर्न रु ३४ लाख ६० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।

Facebook Comments