पैसा लुकाउने ३ प्रहरी निलम्बित

अनलाइन अन्नपूर्ण संवाददाता पोखरा, १५ कात्तिक । जुवालाखबाट बरामद भएको पैसा लुकाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत तीन जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार सादा पोशाकमा खटिने प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान अनिल ढकाल र जीवनाथ लामिछाने निलम्बनमा परेका हुन् । कात्तिक ९ गते जुवाखालबाट बरामद भएको रकम मध्ये १ लाख २६ हजार लुकाएको आरोप उनीहरुलाई लागेको छ ।

डिएसपी केसीका अनुसार गत कात्तिक ९ गते पोखरा ६ बैदाममा रहेको होटल क्रिस्टल प्यालेसमा छापा मार्दा बरामद भएको १० लाख ५८ हजार मध्ये १ लाख २६ हजार रुपैयाँ ‘गायब’ भएको थियो । बरामद पश्चात हराएको बाँकी रकमपछि असई सुवेदीले प्रयोग गर्ने स्कुटरभित्र भेटिएको प्रहरीले बताएको छ ।

फाइल तस्विर प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी

सादा पोशाकका प्रहरीको इन्चार्ज समेत रहेका असई सुवेदीको स्कुटरमा उक्त पैसा राखेको सिसिटिभी फुटेजबाट पत्ता लागेको थियो । सुवेदीको स्कुटरमा अर्का २ जना सादा पोशाकमा खटिएका प्रहरी जवान ढकाल र लामिछानेले पैसा राख्दै गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरी स्रोतले बताएको छ । बरामद भएको रकम असई सुवेदीले आफ्नो स्कुटरमा राख्न लगाएको स्रोतको भनाइ छ । ‘प्रारम्भिक चरणको अनुसन्धानमा तीनै जनाले अनियमितता गरेको पाइयो,’ डिएसपी केसीले भने, ‘थप अनुन्धान प्रक्रिया अघि बढाएका छौं । उनीहरु तीनै जनालाई निलम्बन गरिसकेका छौं ।’

असई सुवेदी असोज महिनामा मात्रै ६४ औं प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को सम्मान पाएका थिए । त्यो सम्मान देशभरी कै उत्कृष्टभित्रबाट छानिएको थियो । ६३ औं प्रहरी दिवसमा पनि ‘असल प्रहरी’ को सम्मान उनले पाएका थिए । प्रहरी संगठनबाटै २ पटक सम्मानित भइसकेका असई सुवेदी शुक्रबार निलम्बनमा परेका हुन् ।

Facebook Comments