पीपीएल चितवनको लगातार तेस्रो जित

पोखरा ६ पुस । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल मा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ ।आइतबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै पीपीएलमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १सय४७ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय२८ रन बनाउन सक्यो ।विराटनगरलाई १२८ रनमा रोक्न चितवनका करण केसी र भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । विराटनगरका लागि लोकस बमले ६२ रन बनाएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ५ छक्का र ५ चौका प्रहार गरेका थिए । यस्तै, पुनित मेहराले २४ रन र नोमन खानले १६ न बनाएका थिए ।

विराटनगरविरुद्ध चितवनका करण केसी र भुवन कार्कीले ३ विकेट लिए भने रोहन मुस्तफाले २ र सन्नी पटेलले १ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको चितवनले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय४६ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेखले ३९ रन बनाए भने, कप्तान पारस खड्काले ३५ रन, सन्नी पटेलले २७ रन, बाबर हायतले २५ रन बनाएका थिए । चितवनविरुद्ध विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहम्मद जायद खानले समान एक–एक विकेट लिएका थिए ।

लगातार तिन खेलमा जित हात पारेको चितवन ६ अंकसहित शीर्ष स्थानमा यथावत छ भने विराटनगर तीन खेलमा २ अंकसहित चौथो स्थानमा छ । खबरहब

Facebook Comments