पिपिएलमा काठमाण्डौं र विराटनगरको जित कप्तान ज्ञानेन्द्रको शतक

दीननाथ बराल पोखरा २, पुष । काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाइटन्सले बुधबारको खेलमा जित हासिल गरेकाछन्। अघिल्ला दुई खेलमा पराजय बेहोरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदानमा पोखरा रगंशालाको क्रिकेट मैदानमा बुधबार भएकोे पोखरा प्रिमियर लिग (पिपिएल) टि—ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा एक्सपर्ट धनगढीलाई पराजित गर्दै जित हासिल गरेको हो ।

बुधबार भएको लिगको अर्को खेलमा भने विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै जित हासिल गरेको हो । पोखराले तीन खेल मध्य दुईमा हार र एकमा जितसंगै २ अंक प्राप्त गरेको छ । त्यस्तै काठमाण्डौंले पनि तीन खेल मध्यमा दुईमा हार एकमा जित निकालेको छ । धनगढीले दुई खेल मध्य एकमा जित एकमा हार व्यहोर्दा विराटनगरले भने दुई खेल मध्यमा एकमा हार एकमा जित दर्ता गरेको छ ।

अघिल्ला दुई खेलमा लगातार पराजित व्यहोरेको काठमाडौंले पुनरागमन गर्दै एक्सपर्ट धनगढीलाई १ सय ७ रनको विशाल अन्तरले पराजित गरेको छ । काठमाण्डौंको जीतमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय योगदान दिए । खेलमा टस जितेर फिल्डिङ रोजेको धनगढीको निर्णय गलत साबित भयो । खराब मौसमले १७ ओभरमा घटाइएको खेलमा काठमाडौंका ब्याट्सम्यानले जोडदार ब्याटिङ गरे ।

ओपनर गौरव तोमार खाता नखोली पवेलियन फर्किए पनि काठमाडौंले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको विशाल योगफल तयार पार्यो ।
काठमाडौंका जयकिशन कोल्सावाल र अमृत श्रेष्ठले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । मल्लले ३८ बल मै ८ चौका र ९ छक्काको मद्दतले १ सय रन बनाए । अमितले २१ रन, कोल्सावालले ३७ रन जोडे । बलिङतर्फ धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिए ।

१७ ओभरमै १ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा ७९ रन मै सीमित भयो । धनगढीका शृमान्था विजयरत्नेको १५ रन नै इनिङको सर्वा्धिक रन बन्न पुग्यो । काठमाडौंका वसन्त रेग्मीले ३ र पवन सर्राफले २ विकेट लिए ।
यसैबिच, घरेलु टोली पोखरा पल्टनलाई ४५ रनले हराउँदै विराटनगरले पहिलो जित दर्ता गरेको छ । टस जितेको पोखरा पल्टनले पहिले फिल्डिङ रोज्यो ।

ब्याटिङमा उत्रेको विराटनगरका ओपनरहरुले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेपछि विराटनगरले राम्रो सुरुवात गरेको थियो । टाइटन्सका ओपनर मोहम्मद जाइद आलमले २६(२७) रन बनाउँदा अर्का ओपनर सुनिल धमलाले ३६(४०) रनको योगदान दिए ।विकेट नगुमाएपनि सुस्त खेलेको विराटनगरले १५ औं ओभरसम्म ७६ रन मात्र जोडेको थियो ।

तर इनिङको अन्तिम विराटनगरका विदेशी खेलाडी पुनित मेहराले आक्रामक ब्याटिङ गर्दै टिमलाई आवश्यक फिनिसिङ दिलाए । मेहराले २६ बलमा ६१ रनको महत्त्वपूर्ण पारी खेल्दै टिमलाई निधारित २० ओभरमा १ सय ४५ रनको चुनौतीपूर्ण योगफलसम्म डोहोर्याए । बलिङतर्फ पोखराका कप्तान शरद भेष्वाकर २ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा १४६ रनको लक्ष्य पछ्याएको पोखरा १९.५ ओभरमा १०० रनमै सीमित हुन पुग्यो । लक्ष्य पछ्याउने क्रममा एक क्षण पनि लयमा नदेखिएको पोखराका लागि रोहित कुमार पौडेलको ३२(३८) रन नै सर्वा्धिक रह्यो ।

उनका अलावा कुशल भुर्तेलले २४ र आसिफ सेखले १३ रनको योगदान दिए । विराटनगरका किशोर महतोले ३ तथा जितेन्द्र मुखिया र मोहम्मद जायद आलमले समान २÷२ विकेट लिए । भोलि (विहिबार) बुटवल बिरुद्ध चितवन बिच खेल हुने भएको छ ।

Facebook Comments