पर्यटन :आफ्नै कस्तुरीको सुवास मगमगाई रहने संमृद्धिको कर्ममा लाग्यो माछापुच्छ्रे मोडल ट्रेक

आरजु विष्ट सल्यानी

अनलाइनअन्नपूर्ण/फागुन ९, पोखरा

माछापुच्छ्रे मोडल ट्रेकलाई नछोड्ने गरि आफैं त्यसको प्रवर्धनमा लागेको छ अहिले माछापुच्छ्रे नमूना पैदन मार्ग व्यवस्थापन समिति । कार्यक्रमको अध्यक्षता गरिहेका समितिका अध्यक्ष भक्त बहादुर गुरुङले भनेः“पहिलो समितिले निरन्तरता दिईरहेको भए हामी कति संमृद्ध भईसक्थ्यौं होला, हामीले हामीसंग भएको कस्तुरीको सुवास अरुसम्म पुर्याउन सकेनौं र भरपरर्दो सहयोग पनि पाएनौं तर अहिले माछापुच्छ्रे उठेको छ, मगमगाई रहने उपाएको खोजिमा लागिसकेको छ रोकिने छैन ।”

मञ्चबाट तालिम समापनको सहजिकरण गरिरहेका समितिका सचिव कुल प्रसाद अधिकारीले पर्यटन क्षेत्रका विज्ञहरु, होम स्टेकाका पदाधिकारी, प्रशिक्षकहरु र सहभागि नयाँ पथ प्रदर्शकहरुलाई माछापुच्छ्रे मोडल ट्रेकको झझल्को शव्दहरुबाटै व्यक्त गरिरहेका थिए, उनले भने :“हामीले शुरु गरेका छौं, पर्यटनको काम भनेको एक्लैले हुने होईन त्यसैले सबै क्षेत्रको सकारात्मक पहल चाहिरहेका छौं ।”

गाउँमा कृषि र पर्यटन विकासको लागि दत्तचित्त भएका वडा नं ९ का अध्यक्ष दुर्गा बहादुर क्षेत्रीको कुरा सबैभन्दा पहिले कृषि उत्पादनमा जोड छ । त्यसैले होला आर्थिक उपार्जन र पर्यटनको आधार कृषि उत्पादनको हो, त्यसैले हामीले एक घर एक करेसावारिको अवधारणालाई लागु गरेका छौ र उत्पादनको लभा पनि लिन थालिएको छ ।” यो पटक पर्यटन मन्त्रालय, पर्वतिय प्रशिक्षण् प्रतिष्ठानसंगको समन्वय गरेर तालिम गर्यौं र भविष्यमा थप केहि काम गर्ने सोंच बनाईएको छ । पहिला हामीले सिप आर्जन गर्नुपर्छ र त्यसलाई कार्य क्षेत्रमा नतिजा देखिने गरि लागु गर्नुपर्छ, यसमा तालिम लिएका नयाँ पथ प्रदर्शको महत्वपूर्ण भूमिका रहने विश्वास वढेको छ ।”

सौम्य, भद्र मुद्रामा मुस्कुराई रहेका वरिष्ठ साहित्यकार यूवराज नयाँघरे

मञ्चको दाँयापट्टिको कुनामा सौम्य, भद्र मुद्रामा पोखरेलीका पर्यटकिय गतिविधि, नयाँ पथ प्रदर्शकलाई दिएको ३५ दिने तालिमको समापन समारोहमा व्यक्त कुराहरुलाई सुनिरहनु भएका वरिष्ठ साहित्यकार यूवराज नयाँघरे संगको २० वर्ष पछिको भेटको साईत जुरायो माछापुच्छ्रे नमूना पैदल मार्ग व्यवस्थापन समितिले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्वतिय प्रशिक्षण् प्रतिष्ठानसंगको समन्वयमा आयोजना गरेको कार्यक्रमले ।

हाम्रो संस्कार ठूलालाई आदर गर्ने, सानालाई स्नेह गर्ने हो । उमेर, नाता वा पदिय दायित्वका हिसाबले अग्रजलाई ससम्मान आदर गर्ने हाम्रो परम्परा हो । जानुपर्ने उहाँपट्टि हो तर उहाँ पारिपट्टि मञ्चमा हामी मञ्चाबिमुख, कार्यक्रम चल्दै थियो, जुरुक्क उठेर आउनु भयो र भन्नुभयो :“ओहो ! नदेखेको २० वर्ष भईसकेछ, पोखरै हो ? हो पोखरामै । ल केहि गर्नुपर्छ पर्यटनका लागि, केहि लेख्नु पर्छ र प्रवर्धन गर्नुपर्छ पर्यटनका लागि ।”

यूवराज नयाँघरे :“प्राकृतिक पोखरा सुन्दर छ, सुन्दर पोखराको सौन्दर्यलाई, यहाँको सस्कार, संस्कृतिलाई आन्तरिक तथा बाह्य रुपमा प्रवर्धन गर्न आवस्यक भएको बताउनु भयो । हामी बहुसांस्कृतिक मुलुकका भाग्यमानि वासिन्दा हौं, हामीसंग प्रशस्त सम्पदाहरु छन्, हाम्रो हावा, हाम्रो वातावरण, हाम्रो रहनसहन, आनिवानि, हाम्रो पहिचानलाई देखाएर आर्थिक रुपमा हामी सम्पन्न हुन सक्छौं, उहाँले भन्नुभयो :“यसका हामी सबैको ईच्छा शक्तिले पूरा गर्न सकिन्छ ।”

पोखरा र यो गण्डकी प्रदेश पर्यटनका लागि देश विदेशको लागि अग्र पंक्तिमा रहेको सबैलाई जगजाहेर नै छ । पोखरा शिक्षाको लागि, पोखरा बहु संस्कृति र साहित्यको राजधानी नै हो, कुरा के हो भने हामीले हामीसंगै भएको कस्तुरीलाई चिनेर हामीले नै फाईदा लिने बेला आएको छ ।”

व्यवस्थापन राम्रो बनाउनु पहिलो सर्त हो :प्रकाश रेग्मी

नेपाल टूरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मीले हाम्रो आवस्यक्ता र सोंच दीगो पर्यटनका लागि हुनुपर्छ भन्ने छ तर यसका लागि व्यवस्थापन राम्रो बनाउनु पहिलो सर्त हो । पर्यटन एक ठाउँ विशेष हुँदैन, बहु आयामिक परिवेश भएको नेपालका कुना कन्दराहरु शहर भन्दा पनि पर्यटनका लागि आकर्षक छन् । हामी जानुपर्ने विविधतायुक्त नेपाली समाज र स्थानको लागि हो, त्यसैले हामीले पर्यटनको विज्ञतालाई सबैको लागि बाँडेर जानुपर्छ र जसका लागि चाहिन्छ सहि व्यवस्थापन ।

माछापुच्छ्रे मोडल ट्रेकको स्थापना विशेषतः अन्नपूर्ण सर्किट ट्रेकको विकल्पमा भएको हो । यस मोडल ट्रेकको स्थापना हुनु पर्यटनसंग आवद्ध संघ संस्थाहरु, संगठनहरु तथा मोडल ट्रेकसंग जोडिएका सम्पूर्ण गाउँ र गाउँवासिहरु लाभान्वित हुनु हो । यस मोडल ट्रेकले लोपोन्मुख नेपाली भाषा, संस्कृति, शैली, भेषभुषा, खानपान र सभ्यातालाई जगेर्ना गर्न ठूलो टेवा पुर्याउँछ ।
नेपाल सरकारले मनाउँदै गरेको भिजिट नेपाल २०२० मा यस मोडल ट्रेकको प्रचारप्रसार र कुशल व्यवस्थापन गर्न सकेमा विदेशी मात्र नभई स्वदेशी पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ । आफ्नो व्यस्त जीवनशैलीबाट ८, १० दिनको समय निकालेर ट्रेकिङ गर्दा स्वास्थ्यलाभ हुनुकासाथै त्यस भेगको ग्रामिण पर्यटन प्रवर्धनलाई पनि ठूलो टेवा पुग्नेछ । देश विदेशका तारे होटलमा पनि नपाईने नेपालको मौलिक आतिथ्यता यस मोडल ट्रेकमा पर्ने विभिन्न गाउँहरुमा स्थापित होम स्टेहरुमा अनुभव गर्न पाईने छ ।
यस मोडल ट्रेकको सहि तवरले प्रचारप्रसार र कुशल व्यवस्थापन गर्न सकेमा पर्यटकको नेपाल बसाई लम्ब्याउनुका साथै विदेशी मुद्रा पनि आर्जन गर्न सकिनेछ ।
यस ट्रेकको सफलताको लागि समन्वय पद्धति उपर्युक्त हुन्छ । जसमा ट्राभल एजेन्सिहरु, ट्रेकिङ कम्पनीहरु, टूर अपरेटरहरु, होटल, पर्यटक सूचना केन्द्र, पर्यटनसंग सम्वन्धित अध्ययन गराईने शैक्षिक संस्थाहरु, संचार र पर्यटन सम्वन्धित सरकारी निकायहरुसंग समन्वय गरेमा माछापुच्छ्रे मोडल ट्रेकले सफलता पाउन सक्छ ।
यसैगरि पर्यटकको सुरक्षा, सहि सूचना र संचारको व्यवस्थापन, पर्याप्त ट्रेकिङ गाईड, पर्याप्त पर्यटक व्यवस्थापन, होम स्टे, लज, होटलहरुको व्यवस्थापन सहि ढंगले गरेमा माछापुच्छ्रे मोडल ट्रेक एक नमूना मोडल ट्रेक हुनसक्नेछ ।

पर्यटनले आर्थिक संमृद्धि ल्याउन सकिन्छ :सांसद रामजी वराल

गण्डकी प्रदेश सांसद रामजी वराल जीवनले देशमा आर्थिक संमृद्धि हाँसिल गर्नको लागि नेपालको पर्यटन विकासले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्वतिय प्रशिक्षण् प्रतिष्ठान र माछापुच्छ्रे नमूना पैदल मार्ग व्यवस्थापन समितिको संयोजनमा आयोजित ३५ दिने पथ प्रदर्शक तालिमका समापन समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो ।

हामी सबैको दायित्व राज्यले चालेका हर प्रकारका विकासका कदममा साथ दिने हो, सिकेका सिपलाई गहिरो वोध गरेर व्यवहारीक रुपमा जान आवस्यक छ, सांसद वरालले भन्नुभयो :“हामी नेपालीले पर्यटकका लागि पहिलो कुरा त सम्मान, संस्कार, आतिथ्यता देखाउने हो, हामीले गर्ने असल व्यवहारबाट पर्यटक पटक पटक नेपाल आउन लालायित होउन र हाम्रो बोलिबचन, संस्कार बयान गरि साध्य नहुने गरी प्रस्तुत गर्नुपर्छ, किनभने यो विषय सिंगो राज्यसंग गाँसिएको छ ।”

हामीले आर्थिक उन्नती र प्रगति भनिरहेका छौं, सुखि नेपाली र संमृद्ध नेपाल भनिरहेका छौं, यो उुका लागि पर्यटन एक हो, अनि अति आवस्यक कृषि उत्पादन पनि हो, त्यसैले पर्यटन संगसंगै कृषि र उत्पादनसंग जोडेर लैजानुपर्छ, सरकारले पनि उर्जा, पर्यटन र कृषिलाई महत्व दिएको छ, वरालले भन्नुभयो :“नयाँ नयाँ गन्तव्यहरु प्रसस्त भएकोले ति गन्तव्यको पहिचान गर्नुपर्छ र आर्थिक उन्नतिको थोरै व्यवस्थापनमा जोड दिने हो भने हामीले संमृद्धि भेटाउँछौं ।”

भ्रमण वर्ष २०२० लाई सफल बनाउन पथ प्रदर्शकको मुख्य भूमिका :यामप्रसाद पोखरेल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यामप्रसाद पोखरेलले ससरकारले चलाएको पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पथ प्रदर्शकको मुख्य भूमिका हुने भएकोले नयाँ गाईडहरुले जोश जाँगरका साथ काम गर्ने बेला आएको बताउनु भयो ।

पोखरेलले पोहोर साल सरकारले २७४ होम स्टेमा लगानि गरेको बताउँदै यसपालि ५३ वटा नयाँ तथा १०८ पुरानालाई सहयोग गर्न लागेको जानकारी दिनुभयो । सात प्रदेश मध्य पर्यटनको लागि अति संभावित क्षेत्र गण्डकी प्रदेश भएकोले २० लाख पर्यटक ल्याउने सरकारको लक्ष्यलाई पूरा गर्न यहाँका पर्यटन व्यवसायी तथा जाँगरिला पर्यटक गाईडको भूमिका नै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद रामजी वराल जीवन, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्वतिय प्रशिक्षण् प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले तालिम पूरा गरेर प्रमाण पत्र पाएका नयाँ पर्यटक गाईडहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । साथै प्रशिक्षक तथा सहजकर्ताहरुलाई प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो । सचिव कुल प्रसाद अधिकारीको संचालन रहेको वुधवारको कार्यक्रम माछापुच्छ्रे नमूना पैदल मार्ग व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Facebook Comments