पत्रकार मौका परस्त हुनु हुन्न मन्त्री बास्कोटा

सन्देश श्रेष्ठ पोखरा, मंसीर ६ । सूचना, सञ्चार तथा प्रविधी मन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रता कुनैपनि हालतमा कुण्ठित नहुने स्पष्ट पारेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति र पत्रकार महासंघ कास्कीको संयुक्त आयोजनामा शुक्रबार साँझ भएको ‘श्रमजिवी पत्रकार ऐन अवस्था र चुनौति’ विषयक परिचर्चा कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता नेपाली समाजमा स्थापित भइसकेकाले यो कुनैपनि हालतमा कुण्ठित हुन नसक्ने ठोकुवा गरेका हुन् ।

पत्रकार महासंघको धारणा के हो ? भन्ने प्रश्न गर्दै उनले भने,‘तपाईंहरुको माग प्रेस स्वतन्त्रता हो वा प्रेसको सम्बद्र्धन र प्रवद्र्धन हो ? प्रेस स्वतन्त्रताको मुद्धा हो भने त्यो नेपाली समाजमा स्थापित भइसक्यो, यसलाई कसैलेपनि हस्तक्षेप गर्न सक्दैन ।

’ प्रेस स्वतन्त्रतामा बन्देज लाग्छ भन्ने कुरा गलत मुद्धा हो,‘उनले अगाडि भने, ‘प्रेस स्वतन्त्रतामा बन्देज लाग्छ भन्ने आरोप मिथ्या हो, यसको कुनै जगपनि छैन र आधारपनि छैन ।’ उनले अहिलेको आवश्यक्ता प्रेसको सम्बद्र्धन र प्रवद्र्धन नै मुख्य कुरा भएको बताए । उनले पत्रकार मौका परस्त हुन नहुने भन्दै प्रेस स्वतन्त्रता र अबको चुनौतिको बारेमा महासंघ स्पष्ट हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सूचना, सञ्चार तथा प्रविधी मन्त्री गोकुल बास्कोटा । तस्बिर सन्देश

मन्त्री बास्कोटाले निरन्तर हेडलाइनकारिता गरेर पत्रकारिता पत्रकारिता नहुने टिप्पणी गरे । प्रेस फ्रिडम को कुरा उठाउनु गलत मुद्धा हो,‘उनले भने,‘यो जनतालाई दिग्भ्रमित गराउने काम हो, यो आफैमा गलत छ ।’ मिडिया पारदर्शी हुनुपर्नेसमेत उनले बताए ।

मन्त्री बास्कोटाले नेपाली मिडियाको सबलीकरणको लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले मिडिया सबलीकरण बिना अब पत्रकारिता दीगो र निस्पक्ष नहुने बताए । मिडिया सबलीकरणकै लागि सरकारले समानुपातिक विज्ञान प्रणाली लागु गरेकोसमेत जिकिर गरे ।

समानुपातिक विज्ञापन प्रणाली हिजो नारामा सिमित थियो,‘उनले भने,‘अहिले यसको कानुन बनिसकेको छ, अब लागु हुन्छ ।’ उनले क्लिन फिडको मुद्धासमेत समाप्त भइसकेको बताए । यसलेपनि पत्रकारिता क्षेत्रको आर्थिक सबलीकरणमा सघाउने उनको भनाई छ ।

मन्त्री बास्कोटाले लोककल्याणकारी विज्ञापन अब आवश्यक नभएको बताए । समानुपातिक विज्ञापन प्रणाली लागु भइसकेपछि लोककल्याणकारी विज्ञापनको आवश्यक्ता नहुने उनको स्पष्टोक्ती थियो । लोककल्याणकारी विज्ञापनमा ५ करोड बजेट भएको तर समानुपातिक विज्ञापन प्रणालीका लागि ८ करोड बजेट छुट्याएकाले यो यथेष्ट हुने उनले बताए ।

मन्त्री बास्कोटाले आम सञ्चार विधेयकको ऐन तयार भएर ड्राफ्ट भइरहेको जानकारी दिए । विधेयक प्रेस स्वतन्त्रताको ज्ञारेन्टी हुने भएपनि मिडियाको नियमन, मर्यादा र निश्चित मूल्य मान्यताहरु भने लागु गर्नेगरी बनाइएको उनले स्पष्ट पारे ।

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरेर लागु गर्न भनिसकेकाले अब सम्बन्धित मिडियाले नै लागु गर्नुपर्ने उनले बताए । सरकारले सरकारी मिडियामा न्यूनतम पारिश्रमिक लागु गरिसक्यो,‘उनले भने,‘अब नीजि मिडियामा लागु गर्न अब आफै लाग्नुपर्छ ।’

न्यूनतम पारिश्रमिक लागु गर्ने कुरामा सरकारले पकाएर दिइसक्यो,‘उनले भने,‘अब पस्केर खाने काम तपाईंहरुको हो ।’ पत्रकारहरु आफैपनि सचेत भएर खुलेर लागु गर्नका लागि दवाब दिनुपर्ने उनको भनाई थियो ।

मन्त्री बास्कोटाले न्यूनतम पारिश्रमिक निर्धारण समिति अन्तिम भएकाले अब यसको कार्यकाल नथपिने जानकारी दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले न्यूनतम पारिश्रमिक निर्धारण गरेर दिएपछि सरकारले लागु गर्न निर्देशन दिएपनि मिडिया सञ्चालकहरु नै कार्यान्वयन गर्न आनाकानी गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले न्यूनतम पारिश्रमिक निर्धारण समिति जागिर खाने भाँडो मात्रै बन्न नहुने बताए । न्यूनतम पारिश्रमिक निर्धारण गरेर पठाउने तर कार्यान्वयन नहुने गर्दा पत्रकार र मिडिया सञ्चालक बिच कलह बढाउने काम गरेको भन्दै उनले यदि यसले प्रभावकारी काम गर्न सक्दैन भने खारेज गर्नुपर्नेमा जोड दिए ।

Facebook Comments