पञ्चबर्षीय योजना सफल पार्न १० खर्ब १२ अर्ब आवश्यक पोखरामा प्रदेश विकास परिषदको बैठक सुरु

दीननाथ बराल पोखरा ३, चैत

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं विकास परिषदका अध्यक्ष समेत रहेका पृथ्बी सुब्बा गुरुङले पञ्चबर्षीय योजना सफल पार्न प्रदेशलाई १० खर्ब १२ अर्ब रुपैयाकोे बजेट आवश्यक भएको बताएकाछन्। कोरोना भाइरसको त्रास बढी राखेका वेला पोखरामा एक सय भन्दा बढीको सहभागितामा आयोजना भएको पहिलो विकास परिषदको बैठकमा वोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न प्रदेशमा आर्थिक सुसासन गर्न पनि उक्त बजेट आवश्यक हुने भएको बताएका हुन्।

उनले भने “ अन्य प्रदेश भन्दा हाम्रो गण्डकी प्रदेश धेरै सम्भावना भएको प्रदेश हो, यहाँको श्रोत साधनलाई हामीले उचित ढंगले प्रयोग गर्न सके अन्य प्रदेशको तुलनामा हामीले धेरै छिटो प्रदेशका जनताको जिवनस्तर माथि उकास्न सक्छौं, त्यसको लागि संघिय सरकारले हामीलाई लगानी भित्राउन सहयोग गर्नुपर्छ । ” प्रदेशका ८५ वटै स्थानिय तहसंग प्रदेश सरकारले समन्वय गरी काम गर्नुपर्ने बताउदै मुख्यमन्त्री गुरुङले ठुलो लगानी प्रदेशमा भित्राउन ऋण, सफ्ट ऋण प्रदान गर्न संघिय सरकारले समन्वय गर्नुपर्ने जनाए । प्रदेशका जनताका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि लैजाने सरकारको योजना रहेको उनले जनाए । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिशिष्टिकृत अस्पतालको रुपमा प्रदेश सरकारले विकास गर्न खोजेको मुख्यमन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेशका, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले पञ्चबर्षीय योजना सफल पार्न उर्जा (बिद्युत र पानी) मा ३ खर्ब १५ अर्ब, ग्याँस र भौतिक पूर्वाधार (निर्माण, यातायात र संञ्चार) २ खर्ब ६ अर्ब लगानी आवश्यक भएको बताए । त्यसै गरी मानव संसाधन (शिक्षा, स्वास्थ्य)मा १ खर्ब ४ अर्ब, कृषि तथा वनमा ८६ अर्ब, पर्यटन (होटेल, रेष्टुरेण्ट) मा ७९ अर्ब, उद्योगमा ४१ अर्ब, शुसासन( सामानइ प्रशासन, भ्रष्टचार नियन्त्रण , सुरक्षा) र अन्य खानि तथा भूगर्भ विक्तिय मध्यस्थता, घर जग्गा वहाल तथा व्यपारीक, सामुदासयिक र सामाजिक कार्य) मा १ खर्ब ५५ अर्ब लगानी आवश्यक भएको उनले जनाए ।

उक्त योजना सफल पार्न सार्वजनिक क्षेत्रको ३५.६ प्रतिशत, निजी क्षेत्रको ५८.१ प्रतिशत, सहकारीको ४.४ प्रतिशत, सामुदायिकको १.९ प्रतिशतको आर्थिक सहयोगको योगदान आवश्यक भएको उपाध्यक्ष डा. शर्माले बताए । उनका अनुसार हाल बिद्युतमा एक खर्ब लगानी भएको छ जुन हाल चालु अबस्थामा रहेकाछन भने एक अर्ब केही समयमा संचालन हुने अबस्थामा आउने तयारीमा रहेकाछन्। बिद्युतमा आगामी ४ बर्षमा थप १ खर्ब लगानी हुने आफुहरुले अपेक्षा गरेको उनले जनाए । प्रदेशको बार्षिक बजेट ३२ अर्बको रहेको छ भने स्थानिय तहको करिब ६० अर्ब रहेको छ । केन्द्रिय आयोजना संघिय सरकार मार्फत प्रदेशमा करिब २५ अर्बको योजना रहेको उपाध्यक्ष डा. शर्माले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङले समृद्धिको आधार तयार पार्न पञ्चबर्षीय योजनाले धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । उत्पादन र उत्पादकत्व बृद्धि गर्न, न्यायपूर्ण समाजको सृजना गर्न, दुई अंकको आर्थिक बृद्धिदर पुराउन पनि पन्धौं योजना र गण्डकी प्रदेशको प्रथम पञ्चबर्षीय योजना बिच धेरै सम्बन्ध रहेको उनले उल्लेख गरे । त्यसै गरी कार्यक्रममा प्रदेशका मन्त्रीहरुले क्षेत्रगत रुपमा प्रस्तुती राख्दै छलफलमा सहभागि भएका थिए ।

मंगलबार सम्म चल्ने उक्त कार्यक्रममा उक्त पञ्चबर्षीय योजनाको बारेमा बृहत छलफल सहित पारित हुने भएको उपाध्यक्ष डा. शर्माले जनाए । सहभागिहरुले दिएको सुझालाई समेत समेटेर मंगलबार मुख्यमन्त्री गुरुङ र योजना आयोगका उपाध्यक्ष डा. शर्माले उत्तर दिने भएका हुन्। कोरोना भाइरसको त्रास भई जिल्ला तथा प्रदेशमा धेरै मानिसहरु भेला हुने तथा जमघट हुने गरी कार्यक्रम नगर्न आग्रह गरेको प्रशासन र प्रदेश सरकार बिरुद्ध प्रदेश नीति तथा योजना आयोगले उक्त कार्यक्रम पोखराको ग्राण्ड होटलमा गरेको हो । कार्यक्रममा प्रदेशका सांसद, पालिका प्रमुख, उपप्रमुख सहितका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागि भएका थिए ।

Facebook Comments