पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक लिन बुधबार दुई वटा विमान आउँदै

काठमाडौं २२ पुस । अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छ ।अध्यागमन विभागले चिनियाँ दूतावासको समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् ।

चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार अपराह्न काठमाडौं आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो ।काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।

पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई काठमाडौं सीडीओ कार्यालय बुझाएपछि सीडीओ कार्यालयले एकरएक हजार रुपैयाँ जरिवाना गरी उनीहरुलाई रिहा गर्ने आदेश दिएकोमा प्रहरीले तत्कालै अध्यागमन विभागमा बुझाएको थियो । खबरहब

Facebook Comments