नेपाल सरकारको नीति तथा कार्यक्रम आज अपरान्ह ४ वजे

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ २

कोरोनाभाइरसले आक्रान्त बनाई रहेको बेलामा यो पटक आर्थिक वर्ष २०७७÷७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुन लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रमका लागि अपराह्न ४ः०० बजे संयुक्त बैठक बोलाईएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि संसादहरु पौने ४ वजे नै वैठक कक्षमा मर्यादित पोशाकमा उपस्थित हुने भएका छन् । वैठकका लागि सामाजिक दूरी कायम हुनेगरि व्यवस्था मिलाईएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसदहरु रहेका छन् ।

कोरोनाभाइरसको संक्रमण फैलिरहेको यस जटिल अवस्थामा सरकारको नीति तथा कार्यक्रमका लागि कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई निम्तो दिईएको छैन ।

नेपाल पनि कोरोनाभाइरसको उच्च जोखिममा रहेकोले सरकारको नीति तथा कार्यक्रम स्वास्थ्य समस्या समाधानमा केन्द्रित हुने अपेक्षा गरिएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारले जेष्ठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

Facebook Comments