नेपाल मगर संघ रामबजारको १८ औं साधारण सभा सम्पन्न

पोखरा पुष ६ । नेपाल मगर संघ, नेपाल मगर महिला संघ तथा नेपाल मगर युवा संघ इकाई समिति रामबजारको १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधाराण सभाका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुन मगरले धर्म निरपेक्ष राष्ट्र नेपालमा व्यक्तिगत रुपमा जसले जे धर्म मानेता पनि आफ्नो जातिको मौलिक सांस्कृतिक पक्षलाई भुल्न नहुने भन्दै कुनै पनि जाति वा समुदायको विकासका एक अपसमा संगठित र एकीकृत हुनुपर्ने बताउनुभयो ।

युवा वर्गलाई लक्षित गर्दै उहाँले मगर समुदायमा प्रचलित लाहुरे प्रथाभन्दा उच्च शिक्षा हासिल गर्ने लक्षका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । यसैगरी संस्थाका सल्लाहकार श्याममाया राना पुनमगरले समाज र देशको परिवर्तनको लागि जातीय सांस्कृतिक, शैक्षिक तथा राजनीतिक चेतना हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पनि युवा वर्गलाई आफ्नो शैक्षिक स्तर बृद्धि सँगसँगै भाषा धर्म संस्कृतिलाई भुल्न नहुने भन्दै अवका उच्च शिक्षा हाँसिल गरेका युवाहरुले मगर जातिको भाषा धर्म संस्कृतिको बारेमा थप अध्ययन अनुसन्धान गरी बाहिर ल्याउन आग्रह गर्नुभयो । यसैगरी वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले विभिन्न भाषाभाषी र धर्मालम्बी रहेको नेपालमा देशको राष्ट्रिय पहिचान संरक्षणमा मगर जातिले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मगर जातिको पहिचान, एकता र सद्भाव अन्य जातिको लागि नमुना रहेको र विशेष गरी पोखरा १५ को सामाजिक विकासका लागि पनि नेपाल मगर संघ रामबजार इकाइ समितिको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका पूर्व उपसचिव गगन सिंह थापा मगर, नेपाल मगर महिला संघ कास्कीका सचिव इश्वरी थापा मगर, नेपाल मगर महिला संघ रामबजार इकाइका अध्यक्ष दानकुमारी थापा मगर र युवा संघका अध्यक्ष राजु थापा मगर लगायतले बोलेका थिए ।

कार्यक्रममा संघका सचिव क्या. अमरबहादुर राना मगरले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष क्या. बेनबहादुर आले मगरले आर्थिक प्रतिवेदन, यसैगरी महिला संघका सह–सचिव रेणु थापा मगरले सचिवको प्रतिवेदन र गीता कुमारी आले मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

युवा संघको तर्फबाट सचिव तृष्णा थापा मगरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ओमबहादुर विर्कट्टा थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी समिति अन्तर्गत रहेको भलाइकोष अध्यक्ष सु. लोकबहादुर राना मगरले भलाई कोष प्रतिवेदन प्रस्तुत गरेका थिए भने भवन संरक्षक समितिका अध्यक्ष ना.सु. खुमबहादुर थापा मगरले भवनको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

संघले विगतका वर्षहरुमा झै यस वर्ष पनि साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै समाज भित्र रहेका उच्च शिक्षा हासिल गरेका विद्यार्थी र यस वर्ष एस ई.ई. उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा मगर संस्कृति झल्कने सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । समाजमा हालसम्म ४३४ घरधुरी आवद्ध रहेका छन् ।

संघका अध्यक्ष ढालबहादुर मास्की मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव क्या. अमर राना मगरले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments