नेपाल प्रेस यूनियनको २९ औं स्थापना दिवश :यूनियन कास्की सदस्य, पत्रकार अनिशा श्रेष्ठलाई “उत्कृष्ठ सदस्य अवार्ड”

आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १४

प्रेस यूनियन कास्कीले नेपाल प्रेस यूनियनको २९ औं स्थापना दिवशको अवसरमा आज पोखरामा यूनियन कास्कीका सदस्य, पत्रकार अनिशा श्रेष्ठलाई नेपाल प्रेस यूनियन कास्की, “उत्कृष्ट सदस्य अवार्ड” २०७६ प्रदान गरेको छ ।

कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा आयोजना गरिएको अवार्ड हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रमुख आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य बहादुर के.सीले श्रेष्ठलाई नगद ५ हजार तथा उत्कृष्ट सदस्य सम्मान पत्र प्रदान गर्नुभएको हो ।

नेपाल प्रेस यूनियनले आफुलाई अवार्डको लागि छनौट गरेको कुरा शुरुमा त होईन होला जस्तो लागेको थियो, सम्मानित यूनियन सदस्य तथा पत्रकार श्रेष्ठले भन्नुभयो :“अध्यक्ष नवीन सिग्देल र यूनियनका साथीहरुले हो निर्णय भएको छ भन्ने कुरा थाहा पाए र आज अवार्ड पाएपछि आफुलाई पत्रकारीता क्षेत्रमा लागिरहन थप प्रोत्साहन मिलेको छ ।”

यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार गंगाधर पराजुलीले समितिका सदस्य पत्रकारको प्रोत्साहनको लागि अवार्डको व्यवस्था गरेकोमा खुसि व्यक्त गर्दै श्रमजिवि पत्रकारहरुको हक हितका लागि स्थापना भएको संस्थाको गरिमालाई जोगाईरहन रचनात्मक ढंगले काम गर्नु पर्नमा जोड दिनुभयो ।

प्रेसप्रति सरकार अनुदार

पराजुलीले वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रमा नाममा यो बीचमा चार पाँच पटक संवोधन गरेपनि पत्रकार तथा संचार संस्थाको पक्षमा सकारात्मक कुराहरु नगरेको र प्रेसप्रति सरकार अनुदार देखिएको बताउनु भयो ।

वरिष्ठ पत्रकार रविन्द्र वास्तोलाले अझैं पनि प्रेस स्वतन्त्रताको आन्दोलन नरोकिएको बताउनु भयो । वास्तोलाले दुई तिहाईको लोकतान्त्रिक सरकारले प्रेसमाथि अलोकतान्त्रिक व्यवहार गरिरहेको बताउनु भयो । उहाँले यूनियनलाई पत्रकारीता क्षेत्रमा रचनात्मक कार्यक्रम लिएर अघि वढ्न आग्रह गर्नुभयो ।

“गाईलाई राम्ररी हेरचाह र घाँसपात, दानापानी दिए पो दूध दिन्छ ।”

वानका पूर्व प्रदेश उपाध्यक्ष रमेश पौडेलले लकडाउनको समयमा सबैलाई संवोधन गरिरहेको सरकारले मिडिया र त्यहाँ कार्यरत पत्रकारहरुको बारेमा बोल्नै नचाहेको बताउँदै मिडिलाई कसरी बचाउने भन्ने चिन्ता वढेको बताउनु भयो । मिडिमा कार्यरत पत्रकारहरुलाई तलब दिनुपर्ने कुरामा जोड दिदैं उहाँले पहिले मिडियाको संस्थागत काममा पनि लाग्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले भन्नुभयो :“गाईलाई राम्ररी हेरचाह र घाँसपात, दानापानी दिए पो दूध दिन्छ ।”

नेपाली कांग्रेसका कास्कीका सभापति कृष्ण के.सीले प्रजातन्त्रमा नै प्रेस फस्टाउन सक्ने भएकोले पत्रकारले प्रजातन्त्र र प्रेसका पक्षमा डटेर लेखिरहन आग्रह गर्नुभयो ।

कार्यक्रममा यूनियनका केन्द्रीय सदस्य टंक अधिकारीले अवार्ड प्राप्त अनिशा श्रेष्ठ तथा यूनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई प्रेस यूनियनको स्थापना दिवशको अवसरमा लोगो हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सिग्देलले पत्रकार सुमन गुरुङलाई उपचार खर्च बापत १० हजार प्रदान गर्नुभयो भने अनलाइन फार्मेसिको तर्फबाट ध्रुव शर्माले ३०० सर्जिकल मास्क यूनियनलाई हस्तान्तरण गर्नुभयो ।

सचिव प्रदीप पौडेलको संचालन, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष नवीन सिग्देलले आफु यूनियनमा रहँदा वा नरहँदाको अवास्थामा कहिल्यै गल्ति नगर्ने र गल्ति गरेको बेलामा आउने कटु आलोचनालाई सहर्ष आत्मसाथ गर्ने बताउनु भयो ।

स्मरण रहोस्, २०४८ साल जेष्ठ १३ गते जयप्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय नेपाल प्रेस यूनियनको तदर्थ समिति स्थापना गरिएको थियो । यूनियन अन्तराष्ट्रिय पत्रकार महासंघबाट सदस्यता पाउने नेपालबाट पहिलो संस्था पनि हो ।

Facebook Comments