नेपाल :आज नयाँ १५६ थपिए, कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुग्यो

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १५

कोरोनाभाइरसको उच्च जोखिममा रहेको नेपालमा कोरोनाभाइरसको संक्रमण आज एकैदिन १५६ जनामा देखिएपछि संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी नेपालमा कोरोनाभाइरसबाट संक्रमितको संख्या १ हजार ४२ पुगेको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले एकैदिन १५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ हजार ४२ पुगेको बताउनु भयो । उहाँका अनुसार संक्रमित भएकाहरु मध्य पाँच जनाको मृत्यु भएको छ भने १८७ जना निको भएर घर फर्किएका छन् ।

आज कर्णाली प्रदेशको सुर्खेतमा १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरु २ देखि ५ वर्षका वालिका, ११ देखि ३७ वर्षका पुरुष र २२ देखि ३९ वर्ष उमेर समूहका महिला तथा एक बोल्न नसक्ने महिलामा पनि पोजेटिभ देखिएको डा.देवकोटाले बताउनु भयो । यस्तै दैलेखका ८ जनामा संक्रमण देखिएको छ । उनिहरु १७ देखि ४० वर्ष उमेरका पुरुष र एक २० वर्षिया महिला रहेकि छन्

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा स्याङजाका ३ जनामा संक्रमण देखिएको छ । उता सेती अस्पतालमा गरीएको परिक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ । उनिहरु कैलाीका २ तथा दार्चुलाका १ जना रहेका छन् ।

हेटौंडास्थित किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका ५० वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । उता भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको परिक्षण पोजेटिभ देखिएको छ भने उनिहरु बर्दियाका दुई र एक जना बाँकेका हुन ।

धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । ८ वर्षका वालक देखि ४० वर्ष उमेर समूहका उनिहरु रौतटहका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

हालसम्म नेपालका ५१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए अनुसार संक्रमित १ हजार ४२ जनामा पुरुषको संख्या ९४० रहेको छ भने महिला १०२ रहेका छन् । १८७ जना निको भईसकेका छन् भने अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

Facebook Comments