नेपाली बैंक ह्याक गरी १ करोड लुट्ने व्यक्ति पक्राउ

काठमाडौं २० पुस । नेपालको कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप १ जना पक्राउ परेका छन् ।नाइजेरियन तथा भारतीय नागरिकसँग मिलेर नेपालको कृषि विकाससहित विभिन्न बैंकहरु ह्याक गरेर १ करोड रुपैयाँ लुटेका दीपक नेपाल पक्राउ परेका जनाइएको छ ।मोरङको रङ्गेली घर भएका दीपक विगत केही समयदेखि भारतमा बस्दै आएका थिए । उनले नेपालको कृषि बिकास बैंक ह्याक गरी १ करोड रुपैयाँजति लुटपाट गरेका जनाइएको छ ।लामो समयदेखि खोजी सूचीमा रहेका दीपकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शहकुल थापाका अनुसार दीपकसहितका व्यक्तिको समूहले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएका थिए ।महाशाखाको टोलीले दीपकसहितको समूहका सदस्यहरुलाई यसअघि नै पक्राउ गरिसकेका छ ।गत असोज पहिलो हप्तामा कृषि विकास बैंक ह्याकिङ गर्ने १२ जनालाई पक्राउ गरेको थियो ।यस्तै, गत मंसिर २५ गते पनि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाका अनुसार असोज पहिलो साता र मंसिरमा पक्राउ परेका व्यक्ति नाइजेरियन नागरिक ‘पिटर काले’ भनिने पिटर हर्मेन असेंगाका सहयोगी हुन् ।

यस्तै, केही दिन अगाडि पक्राउ परेका दीपक पनि ‘पिटर काले’ समूहका मुख्य सदस्य हुन् । उनले ‘पिटर काले’को निर्देशनानुसार नेपालमा एजेन्टहरुलाई परिचालन गर्ने गर्दथे ।एसएसपी थापाका अनुसार गत असोज ५ गते कृषि विकास बैंक ह्याक हुँदा दीपकको खातामा १ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो । पछि अनुसन्धान गर्ने क्रममा उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी उक्त रकम आफ्नो खातामा जम्मा गर्न सफल भएका थिए ।

‘अहिले पक्राउ परेको दीपक पनि पिटरकै समूहको सदस्य हो । असोजमा कृषि विकास बैंक ह्याक कृषि विकास बैंकमै रहेको उसको खातामा १ करोड रुपैयाँ गएको थियो । उसले पैसा भने निकाल्न सकेको थिएन । पैसा निकाल्न नपाउँदै हामीले अनुसन्धान गरेर उसको खाता रोक्का गरिएको थियो,’ महाशाखा प्रमुख थापाले भने । खबरहब बाट

Facebook Comments