निवर्तमान सभामुख महरा विरुद्धको थुनछेक बहस आजपनि

अअ/पोखरा, कात्तिक१८-निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस आजपनि हुदैंछ । आइतवार उहाँ विरुद्धको थुनछेक बहस नसकिएपछि आज पनि बहस हुन लागेको हो ।

आईतवार जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा थुनछेक बहस शुरु भएको थियो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको पक्षबाट बहस गर्ने ३२ जना वकिलको नाम टिपाईएको थियो । सरकारको तर्फबाट ४ वकिलले बहस गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दायर भएको हो । उक्त उपदफाले कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।

असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उहाँमाथि संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको छ ।

थुकछेकको बहस सकिएपछि पुर्व सभामुख महरालाई कारागार चलान गर्ने अथवा धरौटीमा रिहा हुने भन्ने विषयमा आदलतबाट आदेश आउने छ ।

Facebook Comments