निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि पोखराको भरतपोखरीमा विवाद

कास्की मंसिर १४ । पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो । तर, सर्वदलीय आकस्मिक बैठकले हस्ताक्षर नगरिएका मतपत्र भेटिए सदर गर्ने सहमतिपछि पुन: मतदान सुरु भएको छ ।

२ सय ४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मत भेटिएको भन्दै विरोध र होहल्ला सुरु भएको थियो। विवाद चर्किँदै गएपछि मतदान रोकिएको थियो। उक्त केन्द्रमा २ सय ४० भन्दा बढी मत खसिसकेको छ।

नेकपाका कार्यकर्ता र स्थानीय विरोधमा उत्रिएका थिए। उक्त केन्द्रमा कास्की २ नम्बर क्षेत्रका नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।

मुलुकका विभिन्न स्थानमा बिहान नै देखि जारी मतदानका क्रममा केही ठाउँमा बम फेला परेको र पोखराका तीन ठाउँमा विस्फोट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। बरपाण्डेथुम मतदानस्थलमा सुरक्षा घेरा फराकिलो बनाइएको छ। त्यस मतदानस्थलमा ३ सय मिटर पर सुरक्षा घेरा छ।source ekantipur

Facebook Comments