नागरिकका आस्था माथि ठोस पुर्‍याउने छैन खेमराज पौडेल

पोखरा, मंसिर १० । नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले जनताको आस्था माथि ठोस पुग्न नदिने बताएका छन् । कास्की २ उपचुनाव नजिकिदै गर्दा पोखरा महानगरपालिका वडा नं २० भलाममा मंगलबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने चुनाव भएको बताएका छन् ।

तीन पटक सम्म नेकपाले यो क्षेत्रमा जितेर के गरे ? भलामका जनताले मूल्याङ्कन गर्नुपर्ने दिन भएको उनले उल्लेख गरे । आफ्नो उम्मेद्वारी कुनै व्यक्ति, पार्टी वा उम्मेदवार सँग नभएर भ्रष्ट्राचार विरुद्ध रहेको पौडेलले बताए । निर्वाचनबाटै बनेको सरकारले २१ महिनामा गरेको कामको मूल्याङकनका आधारमा कास्की २ का मतदातालाई मत प्रदान गर्न उनले आग्रह गरे ।

इतिहासमै सबैभन्दा भ्रष्ट सरकारको संज्ञा दिदै पौडेलले गलत दिशामा गइरहेको सरकारलाई ट्रयाकमा ल्याउनलाई पनि आफ्नो उम्मेद्वारी भएको बताए । उनले अहिलेकोे सरकार भनेको ‘खाउ भने कान्छा बाउको अनुहार, नखाउ भने दिन भरिको शिकार’ जस्तै भएको आरोप लगाए । कास्की २ को ११ वटा वडा मध्ये सबैभन्दा अविकसित वडाको रुपमा रहेको भलामको विकासका कामलाई पुरा गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

काँगे्रसका प्रवक्ता विश्व प्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपना मात्रै बाँडेको बताए । ‘सपना ठिक्क हुनुपर्छ, उनले भने, सक्ने सपना मात्र पुरा हुन्छ नसक्ने होइन ।’ कास्की २ का नागरिकलाई उनले खेमराज पौडेल भोली जितेर गएपछि संसदमा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभाष हुने बताए ।

उनले काँग्रेस जिते पनि हारेपनि जेठो थियो, जेठो हो र जेठो रहने बताए । घरमा एउटा जेठो छोरोको दायित्व जस्तो हुन्छ त्यस्तै हो सरकार बनाउनमा नेपाली काँगे्रसको दायित्व, यो सबैलाई बुझ्न उनले आग्रह गरे । सरकारलाई ढंग पु¥याएर काम गर है भन्न कास्की २ को उपचुनावमा खेमराज पौडेलले जिताउनै पर्ने उनको धारणा थियो ।

कांगे्रसका केन्द्रिय नेता अर्जुननरसिंह केसीले अहिलेको उपचुनावलाई न्याय र अन्यायको राजनीतिको बारेमा परिभाषित गरे । मंसिर ११ राती १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले यो बेला अझै सचेत हुन काँग्रेस कार्यकर्तालाई उनको आग्रह थियो । नागरिकका करबाट कमाएको पैसाले मतदातालाई भड्काउने काम हुन सक्ने उनले उल्लेख गरे ।

‘भ्रष्ट्राचार सुन्न सक्दिन भनेर भाषण गर्ने प्रधानमन्त्रीलाई भ्रष्ट्राचारलेनै घेरेको छ’, उनले आरोप लगाए । सत्य, सदाचार, न्याय र लोकतन्त्रको सुरक्षाको वातावरण सिर्जना गर्न यसपटक कांगे्रसलाई मतप्रदान गर्न कास्की २ का आम नागरिकलाई उनको आग्रह छ ।

काँग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले पोखरेलीलाई अर्को मौका आएको बताएका छन् । सदाचारको राजनीतिका लागि खेमराज पौडेलको उम्मेद्वारी भएको उल्लेख गर्दै उनले सहानुभुतीका आधारमा मत प्रदान गर्नेकी यो क्षेत्रको विकासका लागि मत प्रदान गर्ने कास्की २ का नागरिकको हातमा रहेको बताए । चुनावी सभामा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापा, काँग्रेस नेतृ सारदा पौडेल, नेता धनराज गुरुङ र नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा गिरी लगायतले बोलेका थिए ।

Facebook Comments